एउटा चुनावको धमिलो स्मृति
खबर पलिका
२०७९ वैशाख २५ गते २१:०७

सञ्जय साह मित्र

अलि अलि सम्झना छ, त्यो पनि मधुरो । चुनावको पहिलो सम्झनाको कुरो सम्झँदै छु । चुनावको सम्झनाको यो डोरो चार दशक पहिलेतिर पु¥याउँछ मलाई जब म सानो थिएँ । म निकै सानो थिएँ, सायद विद्यालय जान थालेको थिएँ कि ?
<span;>त्यत्ति बेला गाउँमा टायर गाडाको आगमन भइसकेको थिएन । गाउँमा दुई चार ओटा साइकल पनि थिएन । एउटा रेडियो पनि थिएन । गाउँमा गन्यमान्य मानिसको घरमा मात्र कोही पाहुना आउँदाको रात लालटेन बल्दथ्यो, हैनभने टुकी नै रातको उज्यालो हटाउने सर्वप्रिय, सर्वाधिक चलेको र सबैको पहुँचमा भएको दीपक थियो । गाउँमा गन्यमान्य मानिसको छोरीको बिहेमा पेट्रोमैक्स बल्थ्यो मट्टितेलबाला । कि त कसैको बरियातमा नाच हुन्थ्यो भने यो बालिन्थ्यो । विपन्न र मध्यम वर्गका मानिसको परिवारमा कुनै कार्यक्रम हुँदा लालटेनलाई नै ठूलो मानिन्थ्यो ।
<span;>गाउँमा बयलगाडा थियो जसलाई गडी भनिन्थ्यो । टायर गाडाको अस्तित्व त अहिलेसम्म पनि छ तर गडी अर्थात् बैलगडीको अस्तित्व लोप भइसकेको छ । कतै पनि देखिन्न । यसमा प्रयोग हुने पाङ्ग्रा काठबाट निर्मित हुन्थ्यो । दुई पाङ्ग्रा हुन्थे र दुवै काठबाटै बनेको हुनाले कठही गडी पनि भनिन्थ्यो । मुख्य रुपमा जब टायर गाडाको प्रचलन हुन थाल्यो तब गडीलाई कठही गडी भनिन सुरु भयो । वास्तवमा पहिले यसलाई सोझै गडी भनिन्थ्यो ।
<span;>चुनावको स्मृतिसित गडी कसरी जोडिएको छ भने मैले पहिलो चुनाव हेर्न यहीँ गडी चढेर गएको थिएँ । मेरो गाउँभन्दा करिब एक कोसभन्दा टाढा कसैले डेढ कोस पनि भन्दथे, विशुनपुर्वा मानपुरमा भोंट थियो । त्यत्तिबेला चुनावलाई भोंट नै भन्ने चलन थियो । सायदै कसैले चुनाव भन्दथे कि ? मलाई त्यत्तिबेला कसैले चुनाव भनेको सम्झना छैन ।
<span;>हुनेखाने कोही कोही मात्र आफ्नो शान देखाउनको लागि साइकलमा जान्थे । गडी भाडामा चल्दथ्यो । हितमितलाई भाडा लिँदैनथे पनि । गडी प्रायः धनी मानिसको नै हुन्थ्यो । गाउँका मुखियाजी भोंटमा भाग लिन साइकलमा जानु भयो । उनका चार जोर गोरु थिए । चार ओटा गाडामा जोतिएका थिए । सबैमा पराल हालिएको थियो । परालमाथि मानिसलाई बस्न सजिलो हुन्थ्यो । त्यत्तिबेला सायद महिलालाई पनि मताधिकार थियो तर महिलामा कुनै उत्साह भएको देखिएको थिएन । एक गडी मानिस एकै छिनमा भरिए । म सबैभन्दा कान्छो भएकोले गडीको एउटा बाँस समाएर उभिएको थिएँ । गडी चल्न सुरु भयो । गडी आवाज र हल्लाइले एउटा संकेत गरेकै हुन्थ्यो, गोरुको घाँटीमा बाँधिने घन्टीले यो गडी हो र गडी चलिरहेको छ भन्ने संकेत अरुलाई पनि दिन्थ्यो ।
<span;>गडीको पहिया ठूला ठूला हुने गर्दथे । र, काठको हुनाले जमिनमा गुड्दा जति धेरै भारी हुन्थ्यो, त्यत्ति धेरै माटोमा पनि भासिदै गुड्थ्यो । सडकमा गडी गुड्दा गुड्दा सडक खिइएको हुन्थ्यो । सडकमा जताबाट गडीको पहिया गुड्दथ्यो, त्यत्ता खाल्डो भइसक्थ्यो । कुन सडक कतिको चालू छ भन्ने कुरो दर्शाउन सडकको यही पहिलाबाला खाल्डो नै प्रमाण हुन्थ्यो । गाउँको पर्तीमा भएको सडकमा रोकिएको गडीमा मानिसहरु भरिएपछि गडी खुल्यो विशुनपुर्वा मानपुरतिर । गाउँनजिकै चानी खोला छ । खोला गहिरो हुनु स्वाभाविक हो । खोलामा हल्का पानी थियो र खोलाबाट निस्कनको लागि गोरुमा धेरै बल चाहिन्थ्यो । अधिकांश गडी यहाँ फस्दथ्यो र गाउँका मानिसले ठेलेर बल्ल बाहिर निक्लन्थ्यो । मेरो गडी राम्रो, बलियो र नहार्ने छ भन्ने देखाउने एउटा तरिका थियो कि मानिस वा सामान जे छ त्यो जस्ताको तस्तै राखेर गडीलाई खोला पार गराउँथे । हाम्रो गडीलाई खास कुनै अप्ठ्यारो भएन । गाउँ छेउकै खोला र अभ्यस्त भइसकेका गोरुहरु भएकाले गहिरो खोलालाई पार गरेर अगाडि बढ्यो गडी ।
<span;>घाम माथि आइसकेको छ । अगाडि बढिरहेको छ गडी ।
<span;>भोंट भइरहेको ठाउँमा पुग्छौँ । त्यहाँ सिपाही पनि थिए । त्यत्ति बेला प्रहरीलाई अधिकांशले सिपाही नै भन्दथे । सिपाहीलाई देखेर अधिकांश मानिसको मनमा डर हुन्थ्यो । मानिस शान्त हुन्थे र सम्भव भएसम्म सानोतिनो गल्ती पनि नहोओस् भन्ने चाहना मनमा भइरहन्थ्यो ।
<span;>निकै चहलपहल थियो । अहिले मलाई अलिकति पनि सम्झना छैन कि कसरी कसले भोट खसाले । भोंट खसाल्ने बाकस कस्तो थियो तर एउटा कुरो चाहिँ सम्झना छ कि मानिसहरुको ठूलो लाइन थियो । बुबा पनि सोही लाइनमा बस्नु भयो । केही बेरसम्म त म पनि बुबासँगै लाइनमा थिएँ बुबाको औला समातेर उभिएको थिएँ । लाइनसँगसँगै म पनि अगाडि सरिरहेको थिएँ तर अलिक बेरपछि मलाई कसैले त्यो लाइनबाट हटाएका हुन् कि प्रहरीले अब अगाडि जान मिल्दैन भनेकाले हो, म त्यहाँबाट निस्केर एक ठाउँमा उभिन आइपुगें । मलाई जहाँ उभ्याइयो, त्यहाँ भुजा र पकौडा बेचिरहेका थिए एक जना । भुजा र पकौडालाई हामी मुर्ही कचरी भन्थ्यौँ । धेरै बेरसम्म उभिएर मुर्ही कचरी बेचेको हेरिरहें । घरमा सायद आमाले यो बेपार गर्नुहुन्थ्यो । वा, बेपार अझै सुरु गरिसक्नु भएको थिएन ।
<span;>मुर्ही कचरीको बिक्री भइरहेको थियो । म त्यहीँ छेउमा उभिएको थिएँ । बुबा मत हाल्ने लाइनमा विस्तारै अगाडि सर्दै हुनुहुन्थ्यो । एक छिनमा देखिन छाड्नु भयो । तर मलाई चिनेका एक जना काका पर्ने मेरो गतिविधि हेरेर बसिरहनु भएको थियो । म घरि बुबातिर र घरि मुर्ही कचरीतिर हेरिरहेको थिएँ । भलादमी यति कि खासै हलचल गरिरहेको थिइनँ । सायद काकालाई लागेछ कि मलाई भोक लागेको छ वा मलाई मुर्ही कचरी खान मन लागेको छ । काकाले दुई आनाको मुर्ही कचरी मलाई दिनको लागि भन्नु भयो । मलाई सम्झना छ, अलिकति मुर्ही र तिन ओटा कचरी दुई आनाको आएको थियो । काकाले नै पैसा तिर्नुभयो वा बुबालाई तिराउनु भयो, यो कुरो अहिले सम्झना छैन तर म निकै खुसी भएको थिएँ । भोंट खसालेर बुबा फर्किँदा म मुर्ही कचरी खाइरहेको थिएँ ।
<span;>बुबाले कसलाई भोंट दिनुभयो, थाहा भएन । मलाई मतलब पनि भएन । मलाई त यत्ति थियो कि मैले भोंट हेरें । आफ्नो गाउँबाट गडीमा बसेर अर्को गाउँसम्म पुगें । गडीमा बसेको आनन्द प्राप्त गरें । भोंट हुने ठाउँमा हुने रमाइलो पनि देखें । सिपाही पनि थिए । मानिसको लाइन थियो र मुर्ही कचरी बिक्री भइरहेको थियो । मैले पनि मुर्ही कचरी खान पाएँ । त्यही मुर्ही कचरी घरमा हुँदा अलिकति कचरी खान मन लाग्थ्यो तर मुर्ही त छुनै मन लाग्दैनथ्यो । अर्को ठाउँमा त्यहीँ खान पाउँदा स्वाद नै बेग्लै भयो । आनन्द र स्वाद दुवै बढेको थियो ।
<span;>सबै जनाको भोंट सकियो । त्यहाँ मानिसहरुको भीड छँदै थियो । नजिकैको कलमा पानी खाएँ । कलको पानी धेरै चिसो थियो । हाम्रो गाउँमा मैले कल देखेको थिइनँ कसैको घरमा । अनि भोंटमा गएकाहरु सबै जनाले गडीमा बस्न भने । सबै जना बसे । म पनि गडीमा बसें, अब घरतर्फ फिर्ती सबारी थियो हाम्रो ।
<span;>चुनावको रमझममा देश नै अहिले रहेको समयमा अहिले मैले करिब ४३ वर्ष पहिले देखेको चुनावको धमिलो स्मृति यति नै सम्झन सकें ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =