दल बदलले रौतहटको गरुडामा बहुपक्षीय प्रतिस्पर्धा
खबरपालिका विश्लेषण
रौतहट जिल्लाको मध्यभागमा रहेको गरुडा नगरपालिकामा बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । चुनावको मिति नजिकिँदा पनि कसको पक्षमा जनमत छ भन्ने स्पष्ट हुन सकेको छैन ।
२०७४ मा भएको स्थानीय तहको चुनावभन्दा फरक किसिमको सन्तुलन गरुडामा बनेकोले बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको हो । गरुडा नगरपालिकाको चुनावी अवस्थामा मुख्य प्रतिस्पर्धामा रहेका दलहरुको आन्तरिक जीवनमा धेरै फेरबदल भइसकेकोले पनि सर्वसाधारणलाई अनुमान लगाउन गाह्रो भएको हो ।
२०७४ को स्थानीय तहको निर्वाचनमा गरुडा नगरपालिकाको मेयर र उपमेयर पदमा निर्वाचित दुवै जना यसपटक चुनावमा गएका छैनन् । निर्वाचित मेयर तथा उपमेयर दुवै जना स्वेच्छाले उम्मेदवार नबनेको सम्भवतः पहिलो पालिका गरुडा नै हुनुपर्छ ।
गरुडा नगरपालिकाको मेयरमा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट इन्नु राय यादव निर्वाचित भएका थिए भने उपमेयर पदमा नेपाली काँग्रेसकी रंगीलादेवी जयसवाल । मेयर यादव उमेरका कारणले चुनावमा छैनन् भने उपमेयर जयसवाल पनि उम्मेदवार बनेकी छैनन् ।
पछिल्लो निर्वाचनमा ७२ मतले मेयर पदमा पराजित नेपाली काँग्रेसका सुनीलकुमार यादव फेरि मेयर पदको प्रतिस्पर्धामा छन् । नेकाबाट उपमेयरमा पुनमकुमारी चौधरी रहेका छन् ।
गत निर्वाचनमा नेकपा एमालेबाट मेयर पदका प्रत्याशी शेख कलिमुल्लाह यसपटक चुनाव लडेका छैनन् । तत्कालीन नेकपा एमाले करिब सम्पूर्ण सेट नै नेकपा एसमा परिणत भएको छ । नेकपा एमालेले कन्थमनि प्रसाद कलवारलाई मेयर पदको उम्मेदवार बनाएको छ भने ज्ञानकलादेवी साहलाई उपमेयर पदको । कलवार पछिल्लो निर्वाचनमा स्वतन्त्र रुपमा मेयर पदका प्रत्याशी थिए र लगत्तै लोसपामा प्रवेश गरी केन्द्रीय सदस्य बनेका थिए भने साह नेपाली काँग्रेसको जिल्ला समिति सदस्य थिइन् ।
नेकपा एसले बृजकिशोर यादवलाई मेयरको उम्मेदवार बनाएको छ । रौतहटमा मधेस आन्दोलन सबैभन्दा बढी त्याग र संघर्ष गरेको नेताको छवि बनाएका यादवलाई अन्तिम चरणमा जसपा नेपालले टिकट नदिएपछि नेकपा एसमा प्रवेश गरेका हुन् । यादव नेकपा एसमा प्रवेश गरेसँगै नेपाली काँग्रेसबाट मेयर पदका लागि नगर समितिले सिफारिश गरेका राम भरोस राय यादव, नेकपा एमालेको नगर समितिले मेयर पदका लागि सिफारिश गरेको रामजी साह सोनार तथा रामप्रसाद राय यादव पनि नेकपा एसमा प्रवेश गरेका छन् ।
नेकपा माओवादी केन्द्रको तर्फबाट मेयर पदका लागि विपिन जयसवाल भन्ने सुरेन्द्रप्रसाद जयसवाल उम्मेदवार बनेका छन् । पछिल्लो निर्वाचनमा पनि थोरै मतान्तरले जयसवाल पछाडि रहेका थिए ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान मेयरपुत्र अनिलकुमार यादवलाई मेयरको उम्मेदवार बनाएको छ भने उपमेयरमा पुरानै अनुहारलाई कायम राखेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नवयुवक तर उच्च शिक्षा प्राप्त दीपक राय यादवलाई मेयर पदको उम्मेदवार बनाएको छ ।
गरुडा नगरपालिकामा यादव, मुस्लिम, सहनी तथा साह समुदायको पकड रहेको छ । उम्मेदवारहरुले पनि जातीय सन्तुलनलाई भोट बैंक मानिरहेका छन् । नेकपा माओवादी र नेपाली काँग्रेसका मतदाताले जाति र समुदायभन्दा पार्टीलाई नै मत दिने धेरैको आंकलन रहेको छ ।
जहिले पनि चुनावको नतिजा प्रकाशन नहुँदासम्म नतिजाको आँकलन लगाउन गाह्रो हुने गरुडा नगरपालिकामा यसपटक पनि नतिजाको पूर्वानुमान लगाउन सजिलो देखिएको छैन । सबैले आफूले जितिरहेको दाबी गरिरहेको गरुडा नगरपालिकामा बहुपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।
गरुडा नगरपालिकाको लागि मेयर पदमा नेकपा एसका बृजकिशोर यादव, नेपाली काँग्रेसका सुनीलकुमार यादव, नेकपा एमालेका कन्थमुनि प्रसाद कलवार, नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार जयसवाल मुख्य प्रतिस्पर्धामा छन् भने जसपा नेपालका अनिलकुमार यादव र लोसपा नेपालका दीपक यादव पनि अग्र प्रतिस्पर्धामा रहेको दाबी गरेका छन् ।
Facebook Comment