रौतहटमा मधेसवादी दललाई अकल्पनीय घाटा
खबर पलिका
२०७९ जेठ १२ गते १९:०६

रौतहट, जेठ १२

स्थानीय तहको चुनावको रौतहटमा अन्तिम नतिजा सार्वजनिक हुँदा मधेसवादी दललाई अकल्पनीय घाटा भएको छ भने वामपन्थी दलको फलिफाप भएको देखिएको छ ।

बैसाख ३० मा स्थानीय तहको निर्वाचन हुनुभन्दा पहिले जिल्लामा दुई एमाले र एक माओवादी गरी तिन पालिकाको नेतृत्व गरिरहेको वामपन्थीहरु अहिले आठ पालिका प्रमुख तथा अध्यक्षमा निर्वाचित भएका छन् ।

पहिले मौलापुर र कटहरिया गरी दुई नगरपालिकामा सीमित रहेको नेकपा एमाले अहिले मौलापुर, देवाही गोनाही र गरुडा नगरपालिकामा विस्तार भएको छ । यसै गरी माधव नेपालको नेतृत्वमा नयाँ निर्माण भएको पार्टी नेकपा एकीकृत समाजवादीले गौर, राजदेवी, बौद्धिमाई र वृन्दावन नगरपालिकामा जित हासिल गरेको छ । यसै गरी नेकपा माओवादी केन्द्रले दुर्गा भगवती गाउँपालिका वर्चस्व कायम गरेको छ । चुनावअघि नेकपा माओवादी केन्द्रले यमुनामाई गाउँपालिकामा नेतृत्व गरेको थियो ।

रौतहटमा मधेसवादी पहिचानको दलभन्दा राष्ट्रिय दलप्रति नै मतदाताको विश्वास देखिएको छ । १८ स्थानीय तह रहेको रौतहटमा वामपन्थीहरुले आठ पालिकामा जित हासिल गर्दा नेपाली काँग्रेस सात पालिकामा विजयी भएको छ । चन्द्रपुर, फतुवा विजयपुर, कटहरिया, गढीमाई, माधव नारायण, परोहा र राजपुर नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । यसअघि नेकाले रौतहटको आठ पालिकामा जित हासिल गरेको थियो ।

पहिलो स्थानीय तह निर्वाचनमा निकै बलियो शक्तिको रुपमा देखिएको मधेसवादी दल यसपटकको चुनावमा तिन पालिकामा सीमित भएको छ । रौतहटको ईशनाथ नगरपालिका र यमुनामाई गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल विजयी भएको छ भने पहिले रौतहटमा ठूलो शक्तिको रुपमा चिनिएको उपेन्द्र यादव नेतृत्वको जसपा एक मात्र पालिका सीमित भएको छ । जसपाले गुजरा नगरपालिकामा आफ्नो जितलाई दोहो¥याएको छ ।

रौतहटमा सबैभन्दा बढी सफलता वामपन्थीले हात पारेको देखिँदा जसपालाई ठूलो क्षति भएको छ । जसपाको नेतृत्वमा रहेको मधेस प्रदेश सरकारले रौतहटमा विकास निर्माणको काममा सिन्को पनि नभाँची निरन्तर हेपिरहेको र प्रदेश सरकारमा रौतहटबाट राज्यमन्त्री रहेका योगेन्द्र राय यादवको तानाशाही शैलीका कारण जिल्लामा जसपाले कल्पनै नगरेको हार बेहोरेको जसपा कार्यकर्ताहरु बताउँछन् । राज्यमन्त्री यादवको व्यवहारले रौतहटमा मधेसवादी नेताको पहिचान बनाएका धेरै नेता कार्यकर्ताहरु जसपाबाट पलायन भइसकेका छन् ।

केन्द्रमा स्थानीय तहको निर्वाचनमा गठबन्धन भएको भए पनि रौतहटमा खासै गठबन्धन नहुँदा पनि वामपन्थी पहिलो र नेका दोस्रो शक्ति बन्न पुगेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =