एउटै कक्षाकोठामा ६ कक्षासम्मका विद्यार्थी पढ्ने विद्यालयमा गौरका नगर प्रमुख साह पुगेपछि
खबर पलिका
२०७९ जेठ १९ गते १०:२१

निर्वाचित भएर शपथ ग्रहण गरी कार्यभार सम्हालेपछि चुनाव प्रचारको भन्दा पनि निकै बढी सक्रिय देखिएका गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह मंगलवार एउटा यस्तो विद्यालयमा पुगे जहाँको अव्यस्था कुनै दन्त्यकथाको विद्यालयजस्तो पाइएको छ ।
जिल्ला सदरमुकामको विद्यालयको स्थिति कतिसम्म गए जुग्रेको हुन सक्छ भन्ने अनुमानभन्दा पनि निकै दयनीय स्थितिको विद्यालय देखेपछि नगर प्रमुख साह छाँगाबाट खसेजस्तै भएका छन् ।
सदरमुकाम गौर नगरपालिका ४ टिकुलियामा रहेको श्री आधारभूत विद्यालयमा कक्षाकोठा पर्याप्त छ तर जब नगर प्रमुख साह विद्यालय निरीक्षणको क्रममा पुगे तब बालविकास कक्षादेखि ६ सम्मका सबै विद्यार्थीलाई एउटै कोठामा राखिएको थियो । कक्षाकोठा भने पनि विद्यालयमा भने पनि कार्यालय सहयोगी एक जना मात्रै थियो जो विद्यार्थीको बिचमा बसेका थिए । नगर प्रमुख साह एक जना विद्यार्थीको बेन्चमा बसेर उनलाई च, छ, ज, झ लेख्नलाई अनुरोध गरे । कक्षा ३ मा पढ्ने उक्त विद्यार्थीले लेख्न सकेनन् ।
अर्को बेन्चमा बसेका अलिक ठूलो भाइलाई एबिसिडि पढ्नलाई भने । कक्षा ४ पढ्ने विद्यार्थीले पढ्न सकेनन् ।
एकाघरका चार जना शिक्षक तथा कर्मचारी रहेको विद्यालयकी प्रधानध्यापिका सावित्री यादवका श्रीमान् हुन् कार्यालय सहयोगी अशोक यादव । बाल विकास सहजकर्ता तथा शिक्षक पनि सोही घरका रहेकाले कोही एक जना मात्र विद्यालयमा रहने गरेको र बाँकी कोही पनि विद्यालयमा नरहने गरेको विद्यार्थीको गुनासो रहेको छ ।
विद्यालयका कार्यालय सहयोगीले कहिलेकाही पढाउने गरेको र कहिलेकाही विद्यालयमा कोही पनि शिक्षक वा कर्मचारी नआउँदा बालबालिकाहरु दिउँसोभर बसेर घर फर्किने गरेको गुनासो पनि नगर प्रमुख साहलाई विद्यार्थीहरुले गरेका छन् ।
निरीक्षणको क्रममा कार्यालय सहयोगी यादवले केही पनि जवाफ दिन नसकेपछि विद्यालयमा देखिएको विद्यार्थी तथा शिक्षक रजिस्टर र अन्य केही कागजात नगर प्रमुख साहले नियन्त्रणमा लिएका छन् । विद्यालयको पठनपाठन र अवस्थाको विषयमा नगर प्रमुख साहले सम्बन्धित निकायबाट स्पष्टिकरण सोध्न लगाएका छन् ।
सदरमुकाममै झोले विद्यालयको जस्तो अवस्था रहेको स्थलगत अनुगमन निरीक्षणको क्रममा पाएपछि आफू अचम्भित भएको नगर प्रमुख साहले बताएका छन् ।
एक हप्तादेखि निरन्तर विद्यालय तथा स्वास्थ्य चौकीको अनुगमन गरिरहेका नगर प्रमुख साहले सबै विद्यालयका बेथिति तथा सबल पक्षलाई सामाजिक संजालमार्फत सार्वजनिक गर्दै आएका छन् । चरम बेथितिमा रहेको भेटिएको आजको विद्यालयको अनुगमनपछि नगर प्रमुख साहले सामाजिक संजालमार्फत नगरको शिक्षामा सुधारको लागि उचित सुझाव पनि माग गरेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 1 =