शिवनगर अस्पतालमा चरम लापरवाही देखिएपछि नगर प्रमुख कलवार आक्रोशित
खबर पलिका
२०७९ जेठ २० गते १९:४५

रौतहटको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवारले शुक्रवार गरुडा ५ शिवनगरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको अनुमगन निरीक्षण गरेका छन् । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु यादवसहित अस्पतालको निरीक्षण पुगेका नगर प्रमुख कलवारले अस्पतालको अवस्था देखेर आक्रोशित भएका छन् । अस्पतालमा चरम लापरवाही भएको पाइएको छ ।

शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रका केही कर्मचारीले दुई हप्तादेखि बिना कुनै सूचना अनुपस्थित रहेको अनुगमनको क्रममा देखिएको छ । यसै गरी एक जना कर्मचारीले पेस्की हाजिरी गरेको पनि पाइएको छ । नगर प्रमुखको टोली निरीक्षणमा पुग्दा एक जना महिला कर्मचारी अस्पतालमै बिरामीको ओछ्यानमा मस्त निदाइरहेको भेटिएको थियो ।

चारैतिरबाट शिवनगर स्वास्थ्य केन्द्रको गुनासो सुनिएपछि नगर प्रमुखले अनुगमन निरीक्षण गर्दा सोचेको भन्दा पनि गएगुज्रेको अवस्था पाइएको नगर प्रमुख कलवारले जानकारी गराएका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत हुनुभन्दा पहिले नगरको स्वास्थ्य संयोजक रहेका यादवले प्राथमिक स्वास्थ्य केन्द्र शिवनगरको अवस्था देखेर अचम्भित भएको बताएका छन् ।

अस्पतालका कर्मचारीले आचरणमा सुधार नगरे कारबाही गर्ने चेतावनी नगर प्रमुख कलवारले दिएका छन् । गरुडा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख कलवार दैनिक क्रियाकलापका साथै सर्वसाधारणले पाउने सेवा र सुविधाको क्षेत्रमा पनि ध्यान दिएर सक्रिय हुन थालेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − three =