गरुडामा धाराको पानी नआएको सर्वसाधारणले गरेका छन् गुनासो
खबर पलिका
२०७९ जेठ २० गते १९:४९

रौतहटको गरुडा नगरपालिकामा खानेपानीको समस्या पनि बढ्दै गएको देखिएको छ । गर्मी बढेसँगै खानेपानीको समस्या बढ्दै गएको गरुडाबासीले गुनासो गरेका छन् ।

गरुडा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गरुडामार्फत गरुडा नगरपालिका ४ मा खानेपानीको धारामार्फत व्यवस्थापन हुँदै आएको छ । गरुडामा खानेपानीको व्यवस्थापन सही हुन नसकेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

एक हप्तादेखि निकै कम पानी आएको तथा आवश्यक मात्रामा खानेपानी आउन छाडेको गुनासो स्थानीयबासीको रहेको छ । गरुडा ४ का खानेपानी उपभोक्ता उपेन्द्र शर्माले घरको शौचालय तथा दुई तल्लाको पानी टंकीमा पानी नजाँदा धेरै समस्या भएको गुनासो गरेका छन् ।

खानेपानीको व्यवस्थापनको जिम्मा लिएका गरुडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष पंकज जयसवालले गर्मीले गर्दा खानेपानीको खपत निकै बढेकोले खानेपानीको धारामा फोर्स पुग्न नसकेको जानकारी गराएका छन् । यसै गरी बिजुलीको अनियमितताले गर्दा पनि खानेपानीको आपूर्तिमा केही समस्या थपेको अध्यक्ष जयसवालको भनाइ छ ।

गरुडा नगरपालिका ४ मा खानेपानीको उपभोक्ता बढेसँगै खानेपानीको व्यवस्थापनमा समितिले ध्यान नदिएकोले समस्या बढ्दै गएको छ । उपभोक्ता बढ्दै गएको र समितिले केही ठाउँमा निशुल्क पानी उपलब्ध गराउँदा खानेपानीको चरम दुरुपयोग भइरहेको समस्यालाई समाधान गर्न नसकेको पनि देखिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − two =