खबर पलिका
२०७९ जेठ २५ गते १७:४९

सर्लाही खबरपालिका
मधेस प्रदेशमा हरियो तरकारीको हब सर्लाहीको लालबन्दी बन्दै गएको छ । एक महिनामा लालबन्दीमा बिस करोड रुपैयाभन्दा बढीको तरकारी बिक्री हुनुले यसको पुष्टि भएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिकाको लालबन्दी बजार हरियो तरकारीको लागि मधेस प्रदेशमै प्रचलित छ । पूर्वपश्चिम राजमार्गमा एकछिन गाडी रोकेर धेरैले ताजा र हरियो तरकारी किनेर लैजान्छन् । तरकारीको कारोबार गर्नेहरुको लागि त लालबन्दी झन् हब नै बनेको छ । लालबन्दीको तरकारी बजारमा दैनिक लाखौँ रुपैयाँको थोक तरकारी बिक्री हुने गरेको छ ।
गत बैसाख महिनामा लालबन्दीको थोक तरकारी बजारमा १८ करोड ९९ लाख ४० हजार ६३० रुपैयाको थोक तरकारी बिक्री भएको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीले जनाएको छ । आसपासमा दैनिक हुने लाखौँको खुद्रा व्यापारको हिसाब राखिने गरिएको भने छैन ।
कृषि थोक बजार व्यवस्थापन समितिका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले गत महिना सबैभन्दा बढी गोलभेंडाको कारोबार भएको बताएका छन् । बैसाखमा ९ करोड ४७ लाख ४३ हजार रुपैयाको गोलभेडा लालबन्दीबाट बाहिरको बजारमा गएको व्यवस्थापक घिमिरेको दाबी छ ।
लालबन्दीबाट हरियो खुर्सानी, भन्टा, करेला, सिमी, घिरौला, काँक्रो, बन्दकोभी, बोडी, राजमाजस्ता तरकारीको निकासी हुँदै आएको छ । लालबन्दी बजारबाट थोक तरकारी सर्लाहीकै विभिन्न हाट बजारसम्म पुग्नुका साथै काठमाडौँ, वीरगंज, पोखरा, नारायणगढ, जनकपुर, सिन्धुली, बुटबललगायत अन्य सहर तथा बजारसम्म पुग्ने गरेको छ ।
लालबन्दीलाई मधेस प्रदेशमा गोलभेंडा उत्पादन गर्ने सहरको रुपमा पनि चिनिन्छ । गोलभेंडाको सहरबाट गत महिना दोस्रो सबैभन्दा बढी हाइब्रिड बोडी बाहिरको बजारमा पठाइएको छ । लालबन्दीले गत महिना हरिया हाइब्रिड बोडीबाट १ करो ९४ लाख ७९ हजार रुपैया आर्जन गरेको छ ।
सर्लाहीको लालबन्दी बजारबाट थोकमा तरकारी किनेर खुद्रा बिक्री गर्ने सयौँ व्यापारीहरु रहेका छन् । लालबन्दीमा बजारको मागको आधारमा साना तरकारी बेपारीहरुले किनेर साना सबारी साधन तथा मोटरसाइकल र साइकलमा पनि सर्लाही, रौतहट तथा महोत्तरीका सैकडौँ हाटबजारसम्म पु¥याई हरियो तरकारी बेचेर आजीविका गरिरहेका छन् ।
लालबन्दीका सयौँ किसानको आम्दानीको मुख्य स्रोत नै तरकारी खेती बनेको छ । नजिकका केही गाउँका तरकारी उत्पादकहरुले पनि थोकमा हरियो तरकारी बेच्न लालबन्दी थोक बजारको सहारा लिएका छन् । लालबन्दी थोक बजारले गर्दा तरकारीको उत्पादन, बिक्री तथा स्वरोजगारमा टेवा पुगेको स्थानीयको भनाइ छ ।
उत्पादन भएको हरियो ताजा तरकारी बेच्ने बजार भएपछि जिल्लालाई तरकारीमा आत्मनिर्भर बनाउन धेरै सहयोग पुगेको एक तरकारी व्यावसायीको भनाइ छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eight =