नेकपा एमालेबाट निर्वाचित रौतहटका जनप्रतिनिधिहरु मौलापुरमा सम्मानित
मौलापुर खबरपालिका
नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मानित गरिएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचन नेकपा एमालेबाट निर्वाचित हुने पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यहरुलाई नेकपा एमाले जिल्ला समितिले सम्मानित गरेको हो ।
नेकपा एमालेका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री प्रभु साहले जिल्लाबाट निर्वाचित १६६ जनप्रतिनिधिलाई बधाई दिँदै असल काम गरेर सर्वसाधारण नागरिकको नजरमा सफल जनप्रतिनिधि बन्नुपर्ने बताएका छन् । मौलापुर नगरपालिकाको सभा कक्षमा भएको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै साहले जनताको सेवा र सुविधामा कुनै कटौती नगरी विकासको मामिलामा उत्कृष्टता हासिल गर्न सबै जनप्रतिनिधिहरुलाई सुझाव दिएका छन् ।
नेकपा एमालेका जनप्रतिनिधिहरुलाई बदनाम हुने छुट नभएको बताउँदै नेता साहले पार्टीको नीति र निर्देशन मान्न पनि निर्देशन दिएका छन् । जनताको आशा र भरोसामा खरो उत्रेर अरु पार्टीका जनप्रतिनिधिभन्दा कसरी फरक छौँ भनेर काम गरेर देखाउने अवसर आएको र वर्तमान परिवेशमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले गर्वका साथ चुनौतीलाई स्वीकार गर्नुपर्ने बताएका छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य उपेन्द्र साह, मधेस प्रदेश सहसचिव आरती भन्डारीसहितका नेताहरुले नेकपा एमालेको गौरव र गरिमा बढाउँदै जनताको सेवा गर्नुपर्ने निर्देशन दिएका छन् । कार्यक्रम एमाले रौतहट अध्यक्ष त्रिभुवन साहको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा उपस्थित जनप्रतिनिधिहरुले जनताको पक्षमा सम्भव भएसम्म राम्रो काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Facebook Comment