जिल्ला समन्वय समिति रौतहटको निर्वाचन असार १२ गते
जिल्ला समन्वय समिति रौतहटको निर्वाचन असार १२ मा हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय गौरले जिल्ला समन्व्य समितिको निर्वाचन २०७९ असार १२ गते हुने जनाएको हो ।
असार १२ को दिन मतदान हुने गरी निर्वाचनको कार्यक्रम प्रकाशन गरिएको छ ।
निर्वाचन कार्यक्रम अनुसार असार ७ मा मतदाता नामावली प्रकाशन गर्ने, मतदाता नामावलीमा सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, संशोधित नामावली प्रकाशन गर्ने तथा मतदाताको विरोधमा उजुरी दिने कार्यक्रम तोकिएको छ ।
यसै गरी असार ८ गते मतदाताको विरोधमा परेको उजुरी जाँचबुझ गर्ने र अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । असार ९ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने, मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयन पत्रको जाँच र उजरी उपर निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम निर्धारण गरिएको छ ।
असार १० गते उम्मेदवारले नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ भने असार १२ मा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मतदान गर्ने कार्यक्रम निर्धारण गरिएको छ ।
रौतहट जिल्लामा कुनै एक दलको बहुमत नरहेको तर नेपाली काँग्रेस सबैभन्दा ठूलो दलको रुपमा रहेको देखिएको छ । १८ स्थानीय तह रहेको रौतहटमा नेपाली काँग्रेस सात पालिका प्रमुख र वामपन्थी दल आठ पालिका प्रमुखमा बाजी मारेको छ । वामपन्थी पार्टीमध्ये नेकपा एस चार, नेकपा एमाले तिन र नेकपा माओवादी केन्द्रले एक पालिका प्रमुखमा जित हासिल गरेको छ । लोसपा नेपालले दुई पालिका प्रमुखमा जित निकाल्दा जसपा नेपाल भने एक पालिकामा सीमित हुन पुगेको छ ।
Facebook Comment