जिल्ला समन्वय समिति सर्लाहीमा नेका–माओवादी गठबन्धन निर्विरोध
जिल्ला समन्वय समिति सर्लाहीमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन निर्विरोध निर्वाचित भएको छ ।
जिल्ला समन्वय समिति सर्लाहीको प्रमुखमा नेपाली काँग्रेसका कौशलकिशोर सिंह र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका जितेन्द्रकुमार महतो निर्विरोध निर्वाचित भएका हुन् ।
शुक्रवार दिउँसो १ बजेसम्म जिल्ला समन्वय समिति सर्लाहीको पदाधिकारी तथा सदस्य पदका लागि मनोनयन दर्ता गराउने समय निर्धारण गरिएकोमा तोकिएको समयभित्र नेपाली काँग्रेस र माओवादी गठबन्धनको मात्र मनोनयन दर्ता हुन आएपछि सम्पूर्ण प्यानल नै निर्विरोध निर्वाचित भएको छ । जिसस सर्लाहीमा नेपाली काँग्रेसले प्रमुखसहित छ सदस्य र नेकपा माओवादी केन्द्रले उपप्रमुखसहित एक जना सदस्य लिने सहमति भएको थियो ।
जिसस सर्लाहीका सदस्यहरुमा नेपाली काँग्रेसबाट रामबहादुर बोम्जन, अलाउदीन मियाँ, रामशीला कुमारी यादव, रेखादेवी साह, पासवती देवी थरुनी र सोनावती देवी चयन भएका छन् भने नेकपा माओवादीबाट हेम कार्की निर्वाचित भएका छन् ।
२० स्थानीय तह रहेको सर्लाहीमा जिसस चुनाव जित्नको लागि नेपाली काँग्रेससित एकल बहुमत रहेको भए पनि माओवादीसित तालमेल गरेर निर्विरोध निर्वाचित भएको हो ।
जिसस प्रमुखमा निर्वाचित सिंह गत स्थानीय तहको निर्वाचनमा बलरा नगरपालिकाको नगर प्रमुखमा पराजित भएका थिए । नगर प्रमुखमा पराजित भएपछि सिंह कार्यपालिका सदस्यको चुनाव लडेर निर्वाचित भएका थिए । कार्यपालिका सदस्यमा निर्वाचित हुनासाथ सिंह जिल्ला समन्वय समिति सर्लाहीको सभापति पदका लागि उम्मेदवार हुने चर्चा चलेको थियो ।
Facebook Comment