रौतहटमा पनि देखियो रासायनिक मलको अभाव हुने संकेत
खबर पलिका
२०७९ असार ४ गते १९:३८

रौतहट खबरपालिका
वर्षा सुरु भएसँगै रौतहटमा पनि रासायनिक मलको अभाव हुने संकेत देखिएको छ । लामो खडेरीले किसानको खेतको ब्याडमा धानको बेर्ना राम्ररी तयार नहुँदा ब्याडमा छर्नलाई नै मलको अभाव देखिन थालेको छ ।
किसानले धानको ब्याडमा छर्ने डिएपि र युरिया मलको अभाव देखिएको हो । खोजेको जति नपाइने अवस्था रहेको देखिएकोले रोपाईँको बेलामा मलको अभाव हुने संकेत देखिएको किसानहरुको भनाइ छ ।
धान रोप्नासाथ खेतमा डिएपि मलको आवश्यकता पर्ने हुन्छ तर बजारमा अहिले नै आवश्यक मात्रामा डिएपि मलको अभाव देखिएको गरुडा नगरपालिका २ का किसान रामअश्रे साहको भनाइ छ ।
गढीमाई नगरपालिका किसान राजु सहनीले पनि बजारमा डिएपि मलको लागि सोर्स चाहिने अवस्था सिर्जना भएको बताएका छन् । अहिले रोपाई सुरु हुन कम्तीमा दश दिन लाग्ने समय छ तर सानोतिनो खेतीको लागि पनि डिएपि मल नपाएको गुनासो छिमेकीहरुले गरिरहेको सहनीले बताएका छन् ।
बजारमा अहिले डिएपि मल प्रति बोरा तीन हजार दुई सय पचासदेखि तिन तिन सय पचास रुपैयासम्म बिक्री भइरहेको छ । रासायनिक मल बिक्री गर्ने पसलले ग्राहकलाई हेरेर रासायनिक मल डिएपि भए नभएको बताउन थालेका छन् ।
खडेरीले कमजोर भइसकेको धानको बेर्नालाई बलियो बनाउन र समयमा रोपाईँ गर्नको लागि तयार पार्न किसानहरुले डिएपि, युरिया र केही इन्जाइमहरु ब्याडमा छर्न थालेका छन् । लामो समयपछि वर्षा हुँदा एकातिर किसानहरु हर्षित भएका छन् भने अबको दुई हप्तामा धानको रोपाइँको समयमा मल नपाउने हो कि भन्ने चिन्ता पनि गर्न थालेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =