ऐतिहासिक तोप फर्काउन पहल गरिने   गौर नगर प्रमुख साह
खबर पालिका
२०७९ असार ११ गते २०:००

गौर खबरपालिका

रौतहटको गौर नगरपालिकाका नगर प्रम्ुख शम्भु साहले गौरको ऐतिहासिक सम्पदाको रुपमा चिनिएको तोपलाई पुनः गौर भन्सारमा फर्काउन तत्काल पहल गरिने बताएका छन् । रौतहट सदरमुकाम गौरको दशौँ नगर अधिवेशनलाई सम्बोधन गर्दै नगर प्रमुख साहले नेपाल अंग्रेजसित सम्बन्धित रहेको ऐतिहासिक तोपलाई पुनः गौर फर्काउन तत्काल पहल गर्ने घोषणा गरेका छन् । सन् १८१४ डिसेम्बर ३१ मा रौतहटमा अंग्रेजसित भएको युद्धको क्रममा अंग्रेज पक्षलाई हराएर स्थानीयबासीले तोपसहित थुप्रै हातहतियार खोसेका थिए । रौतहटेली वीरताको प्रतीकको रुपमा दशकौँदेखि नेपाल भारत सीमानजिक गौर भन्सारमा तोपलाई राखिएको थियो । नेपालमा माओवादी द्वन्द्व सुरु भएपछि तोपलाई गौर भन्सारनजिकको प्रहरी चौकीबाट उठाएर वीरगंजस्थित एसएसपि कार्यालयमा लगिएको थियो । अहिले स्थानीय सरकार गठन भएपछि नवनिर्वाचित नगर प्रमुख साहले आफ्नो पहिलो नगरसभालाई सम्बोधन गर्दै गौरको सम्पत्तिको रुपमा रहेको ऐतिहासिक तोपलाई पुनः यथास्थानमा फर्काउन तत्काल पहल थालिने घोषणा गरेका हुन् । यसै बिच नगरसभामा नगर प्रमुख साहले आगामी आर्थिक वर्षका लागि ५२ करोड ८५ लाख ५९ हजार रुपैयाको बजेट पेश गरेका छन् । नगर प्रमुख साहले “सोच बिनको स्रोत व्यवस्थापन हुँदैन र स्रोत बिना सोच कार्यान्वयन हुँदैन” कुरालाई ध्यानमा राखेर बजेट निर्माण गरिएको बताएका छन् । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार तथा जनताको आधारभूत आवश्यकतालाई विशेष ध्यान दिएर पूर्णतया कार्यान्वयनमा ल्याइने बजेटलाई कार्यान्वयनमा पूर्णतया पारदर्शी बनाइने पनि बताएका छन् । नगर प्रमुख साहले नगर प्रमुखको हैसियतमा आफूले कुनै पनि सुविधा नलिने र आफूले पाउने सुविधालाई नितान्त गरिबका छोरीको बिहेमा दिने घोषणा पुनः सार्वजनिक गरेका छन् । नगरसभालाई सम्बोधन गर्दै प्रदेश साँसद तथा गौर नगरपालिकाका प्रथम नगर प्रमुख बाबुलाल साहले सबैले मिलेर जिल्लाको पहिलो नगरपालिकालाई सभ्य, समुन्नत र गौरव गर्न लायकको बनाउनु पर्ने बताएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 6 =