मावि मलाहीमा दुई नगर प्रमुख र उपप्रमुखलाई सम्मान
गरुडा खबरपालिका
अस्तित्वको विवाद रहेको रौतहटको एक विद्यालयले दुई नगरपालकाका प्रमुख तथा उपप्रमुखलाई सम्मानित गरेको छ ।
प्रशासनिक दृष्टिकोणले गरुडा नगरपालिका र भूगोलको दृष्टिकोणले गढीमाई नगरपालिकाको सिमानामा रहेको सरस्वती माध्यमिक विद्यालयले दुवै नगरपालिकाका नगर प्रमुख तथा उपप्रमुखलाई सम्मानित गरेको हो ।
विद्यालयका प्रधानाध्यापक रामसागर साहले गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवार र उपप्रमुख पूनमकुमारी चौधरी तथा गढीमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादव र उपप्रमुख अस्मिता यादवलाई सम्मानित गरेका हुन् ।
दुवै नगर प्रमुखले विद्यालयको अनुगमन गर्दै विद्यालयको शैक्षिक तथा भौतिक विकासमा सहयोग गर्ने बताएका छन् । साथै गुणस्तरीय शिक्षाका लागि दुवै नगर प्रमुखले प्रअ साहलाई निर्देशन दिँदै विद्यालयको सरसफाइ र आन्तरिक व्यवस्थापनमा देखिएका कमीकमजोरीलाई हटाउन सल्लाह दिएका छन् ।
स्थानीय तहको पछिल्लो संरचनाले विद्यालयमाथि स्वामित्वको विवाद रहेको अवस्थामा गढीमाई नगरपालिकाका नगर प्रमुख यादवले गरुडाका नगर प्रमुख कलवारलाई विद्यालयको स्वामित्व विवाद टुंग्याउन आग्रह गरेका छन् । नगर प्रमुख यादवले नगर प्रमुख कलवारसित विद्यालय कुन नगरपालिकाको मातहतमा रहेको भनी बसेर छलफल गरी कानुनतः रुपमा टुंग्याउन आग्रह गरेका छन् ।
केही वर्षदेखि विद्यालयको सम्पूर्ण दायित्व गढीमाई नगरपालिकाले पाउनु पर्ने दाबी गरिरहेको छ भने पहिलेदेखि गरुडा नगरपालिकाको मातहत रहेको दाबी गरुडा नगरपालिकाको रहेको छ । चालू आर्थिक वर्षको आर्थिक कारोबार विद्यालयले गरुडा नगरपालिकाबाट गरेको छ भने विद्यालयले भर्नुपर्ने अनलाइन विवरणहरुमा गढीमाई नगरपालिका लेखेको छ ।
साउन १ देखि विद्यालय कुनै एक पालिकाको हुनुपर्ने माग स्थानीयको पनि रहेको छ ।
Facebook Comment