कविता
हामी यात्री
– मीना देवकोटा
लक्ष्य उद्देश्य गन्तव्य सवार एक
हामी यात्री बाटो उहीँ बिचार अनेक
यात्रा यात्रै हो पैदल होस कि सवार
समय परिधि उहीँ अनि अति हतार
कसैलाई कालाकोट भेट्नु छ
कसैलाइ सेताकोट भेट्नु छ
यी कोटहरुलाई पैसा तिरेर ढोग्नु छ
न्याय र जीवन किनेर ऋण बोक्नु छ
साधारण कुरा होइन आश्चर्य लाग्नु छ
सर्बस्व सकेर स्वतन्त्र माग्नु छ
हामी यात्री उकालो कोही ओरालो लाग्नु छ
पद पैसा मान अभिमान पनि माग्नु छ
कसैलाई पत्थरमाथि जीव सेरेर दया माग्नु छ
कसैलाई आत्मदाह गरेर न्याय माग्नु छ
हामी सबै यात्री घर, सहर, रहर भेट्नु छ
कसैलाई डर, कहर, मान सरोवर भेट्नु छ
कसैलाई जन्ती दुलाहा बनेर बेहुली भेट्नु छ
कतै मलामी बनेर मानव शरीर मेट्नु छ
कसैलाई किसान गोठालो हली हुन जानु छ
कसैलाई युगको वलि हुन जानु छ
यात्रैबाट यात्रा निहाल्दा यहाँ हतारै हतारो रहेछ
सत्तादेखि समाज ब्यक्तिको शान्ति बसाईँ गएछ
हतार नभएका त तिनै चिर निन्द्रामा
जो सुते अनि सुन्तलीको मेचमा
जो जो जुटे परिवारको आँसु अर्थ अस्मिता पिउनेहरुलाई
आयु पियर नितान्त आफ्ना लागि जिउनेहरुलाई
सहज असहज अनुभव गर्ने हतारको यात्री
विश्राम सुन्दर कसरी बन्ला हे संसारका यात्री ।
सर्लाही
Facebook Comment