मधानी ः सामान्य परिचय
खबर पालिका
२०७९ फागुन ६ गते १५:०४

सञ्जय साह मित्र

संस्कृतिको विविधता रहेको देश नेपालमा कतिपय चाडपर्व तथा संस्कृतिहरू दुई वा बढी समुदायले मनाउने गर्दछन् । यस्तै मधेश प्रदेशका मधेशी र थारु समुदायले संयुक्त रुपमा मनाउने एउटा विशिष्ट लोकअनुष्ठान मधानी हो । मधानी अनुष्ठान शिवसित सम्बन्धित छ । यो अनुष्ठान भाकल गर्नेले आफ्नो भाकल पूरा भएपछि गर्ने गर्दछन् । यस अनुष्ठानलाई कामरनाथुहरूले मात्र गराउन सक्छन् । कामरनाथु भनेका विशेष बोलबमहरू हुन् । बाँसबाट निर्मित विशेष किसिमको कामर बोक्ने भएकाले कामरनाथु भनिएको हो । कामरनाथुहरूको समूहलाई गफला भनिन्छ । गफलाको प्रमुखलाई जमदार भनिन्छ । कुनै पनि कामरनाथुको समूहको सर्वोच्च पद जमदार हो । जमदारको चयन कामरनाथुहरूमध्येबाट नै गरिन्छ । जमदारपछि सचिव सरहको पद कचहरिया हुन्छ । गफलामा खजाना हेर्ने खजान्ची, रसद पानीको भण्डार प्रमुख कोठारी तथा मुख्य खटनपटन गर्ने सिपाही हुन्छन् । सिपाहीको सङ्ख्या गफलाको आवश्यकतानुसार निर्धारण हुन्छ । सिपाहीको मुख्य काम आफू अनुशासनमा रहनु, गफलामा अनुशासन कायम गर्नु, नयाँ कामरनाथुलाई अनुशासन सिकाउनु, अरुलाई काममा अह्राउनु, पहरा दिनु र जमदारदेखि कोठारीसम्मको आदेशलाई पालन गर्नु गराउनु आदि हुन्छन् । कामरनाथुको सङ्गठन संरचनामा पूजापाठको विशेष महत्त्व हुन्छ । शिवको पूजा, भजन, कीर्तन, आरती, यज्ञ–अनुष्ठान गर्नु तथा गराउनु नै गफलाको मुख्य काम हो । गफलाको साङ्ठनिक संरचना शक्तिशाली हुने भए पनि पूजा–यज्ञ गराउने कार्य भने पूजारी र महन्थको हुन्छ । पूजारीले भनेजस्तै महन्थले पूजा गर्ने गराउने गर्दछन् । गफलामा न्यायिक विभागको प्रमुखमा विचारी हुन्छन् । कुनै विवाद आएमा वा दुई ठाउँमा एकै दिन यज्ञ सम्पन्न गराउनु पर्दा, यज्ञको दिन निश्चित गराउन कचहरियाको उपस्थितिमा विचारीले यज्ञको नियम र विधि बताउँछन् । गफलामा विचारीलाई धार्मिक वकिल पनि भन्ने गरिएको पाइन्छ । सामान्य मानिस नै कामरनाथु बन्दछन् । कामरनाथु बन्न भाकल गरेको हुनुपर्छ वा भाकल नहुँदा पनि कामरनाथु बनेर आत्मशुद्धि गर्नेहरू छन् । कति दिनको लागि कामरनाथु बन्ने भन्ने कुरा व्यक्तिमाथि निर्भर हुने भए पनि गफलाको निर्णय नै सर्वोच्च हुन्छ । कतिवटा यज्ञ सम्पन्न गराउनु छ भन्ने कुराको निश्चित गर्न जमदारको अगुवाईमा गफलाको कचहरी बसेको दिन यज्ञको सङ्ख्या किटान हुन्छ ।

त्यसै दिन कहिले र कहाँबाट कसरी कामरनाथु घरबाट निस्कने भन्ने निर्धारण हुन्छ । कामरनाथु बनेर घरबाट निस्कनुअघि कम्तीमा पाँच दिन पहिलेदेखि पूर्णतया सात्विक भोजन गर्नुपर्ने र ब्रह्मचर्यमा बस्नुपर्ने हुन्छ । सामान्य भाषामा भनिने बोलबमले शिवको मूल पूजाको दिन वा अघिल्लो दिन मात्र कुनै जलाशयबाट जल बोकी शिवलिङ्गमा जलाभिषेक गर्दछन् तर कामरनाथुले भने अनेक ठाउँमा मधानी अनुष्ठान गराउँदै अन्तमा शिवसित सम्बन्धित मुख्य दिनमा शिवलिङ्मा जल अभिषेक गर्दछन् । मधेशमा मुख्य गरी श्रीपञ्चमी र महाशिवरात्रीका दिन शिवालयहरूमा मेला लाग्ने तथा विशेष पूजा हुने हुन्छ । बैसाख महिनाको कृष्ण र शुक्ल दुवै त्र्योदशीका दिन पनि भव्य मेला लाग्ने हुन्छ । बैसाख महिनामा पनि कामरनाथु र मधानी अनुष्ठानको लागि रोक छैन तर निकै कम भएको पाइन्छ । श्रीपञ्चमी र महाशिवरात्रीको अवसरमा भने मधानी अनुष्ठान गर्नेहरू धेरै हुन्छन् । यसकारण महिना दिनभन्दा पहिलेदेखि नै कामरनाथुहरू विभिन्न ठाउँमा मधानी महायज्ञ गराउँछन् ।

श्रीपञ्चमीको दिनलाई शीर्ष दिन मानेर कामरनाथु बन्नेहरूले कम्तीमा पुस शुक्ल पूर्णिमा कटाएर मात्र घरबाट निस्कन पाइन्छ भने महाशिवरात्रीलाई शीर्ष दिन मान्ने कामरनाथुहरूको लागि घरबाट हिँड्ने समयको निर्धारण गफलाले गरेअनुसार नै हुन्छ । मधानी अनुष्ठानसँग यदि अन्य कुनै यज्ञ वा अनुष्ठान छैन भने यो केवल एक रातको हुन्छ । मधानी मुख्यतया राति गरिन्छ तर राति नै गरिन्छ भन्ने चाहिँ होइन । मधानीका मुख्यतया तीन पक्ष हुन्छन् ः शिव परिवारको पूजा, अन्नको पूजा र बसाहा नाच । शिव, पार्वती र गणेशको मुख्य पूजा कामरनाथु गफलाको पूजारी र महन्थले यज्ञकर्ता अर्थात् भाकलकर्ताद्वारा गराउँछन् । यसमा शिवको सम्पूर्ण परिवारको पूजा हुन्छ । यज्ञकर्ताको परिवार तथा आफन्तले पनि पूजा गर्न पाउँछन् । यज्ञकर्ताको घरमा नै यज्ञ हुने भएकोले पूजादेखि हवनसम्म सबै सहभागी हुन पाउँछन् । पूजासँगै धानको भकारीको पूजा हुन्छ जसलाई कोठीपूजा वा कोठियारीपूजा भनिन्छ । पाँचओटा भकारीमा चामल, दाल, तरकारी, नुन, चिउरासहित अन्य विभिन्न अन्न राखिएका हुन्छन् र धुपादि देखाएर विभिन्न किसिमले पूजा गरिन्छ । भकारीको पूजा गरेपछि मुख खोलिन्छ । प्रायः मध्यरात्रीमा भकारीको मुख खोल्दा यज्ञकर्ता धनधान्यले पूर्ण हुन्छन् भन्ने विश्वास रहेको छ । यससँगै बसाहाको नाच देखाइन्छ । थारु समुदायले बसाहा नाचलाई पूर्वीनाच पनि भन्दछन् । बाँसबाट बसाहाको प्रतिमूर्ति बनाई मानिसले विभिन्न गीत र बाजासित नाच्ने बसाहा नाचलाई शिवको विवाहसित जोडेर हेर्ने गरिएको छ । शिवको विवाहमा भूतप्रेत आदि पनि जन्तीको रुपमा सहभागी रहेको मान्यता छ । अनौठा अनौठा भेषभूषा बनाएर शिवको विवाहमा जन्ती बनेर नाच्दछन् यस्ता पात्रहरू । दुलाहा शिवलाई ससुरालीमा गाली गर्ने अनेक किसिमका लोकगीतहरू गाइन्छन् । गीतको धुनमा लोकबाजाहरू बजाइन्छन् ।

गीत र सङ्गीतको तालमा यज्ञकर्ता, कामरनाथु, जन्ती तथा दर्शकहरू सबै आ–आफ्नै किसिमले झुमेर नाच्नु यस अनुष्ठानको विशेषता हो । यसैले मधानी अनुष्ठानलाई शिव–पार्वती विवाहको उत्सवयज्ञ मानिन्छ । विवाहमा भतेर पनि हुन्छन् । विवाहमा नन्दी र भिरिङ्गीहरू आउँछन् । नन्दी त शिवको वाहन साँढेको नाम हो भने भिरङ्गी चाहिँ शिवका दूत हुन् । मधानी अनुष्ठानपछि माग्नेहरूको हक लाग्छ भन्ने मान्यता रहेको छ । मधानी अनुष्ठान सम्पन्न भए लगत्तै माग्नेहरू यज्ञकर्ताकहाँ आउँछन् । यज्ञकर्ताले माग्नेलाई अनिवार्य रुपमा सकेको दान दिनुपर्ने संस्कृति छ । यसरी माग्न आउनेमा केही निश्चित जातिका मानिसहरू छन्, तिनीहरू आफूलाई तिनै नन्दी र भिरङ्गीजस्ता शिवका विभिन्न गणका वंशज भन्ने गर्दछन् । मधानी अनुष्ठान मुख्य रूपमा रौतहट र बाराका स्थानीयवासी मधेशी र थारुहरूले गर्दछन् । शिवको यो विवाहोत्सवको यो संस्कृति सर्लाहीको पश्चिमी भाग र नेपालसित सिमाना जोडिएको भारत बिहारको केही क्षेत्रमा मात्र प्रचलनमा रहेको छ । मुख्य गरी बज्जिका मातृभाषी क्षेत्रमा मधानी यज्ञ गर्ने चलन रहेकोले यसलाई बज्जिकाञ्चलको विशिष्ट संस्कृतिको रूपमा पनि लिइन्छ । लोकपर्व छठमा जस्तै मधानी अनुष्ठानमा पनि कुनै पण्डित पुरोहितको आवश्यकता पर्दैन । कामरनाथुहरूले नै अनुष्ठानको सम्पूर्ण कर्म गर्ने हो ।

गफलामा यदि बाहुन र गोसाईँ जातिका सदस्य कामरनाथु छन् भने कचहरीको निर्णयअनुसार गफलाको पूजारी पद बाहुन र महन्थ पद गोसाईँ अर्थात् गिरी जातलाई दिन सकिन्छ तर कामरनाथुबाहेक बाहिरबाट बोलाएर मधानी अनुष्ठान गरिने चलन रहेको छैन । मधानी कुनै शास्त्रीय अनुष्ठान नभएकोले यसलाई लोकअनुष्ठान भनिएको हो । यसमा कुनै पण्डित पुरोहितको आवश्यकता नहुनु र सम्पूर्ण यज्ञ कामरनाथुले नै सम्पन्न गराउनुले यो अनुष्ठान वेद तथा पुराणहरूको रचना हुनुपूर्वदेखि नै समाजमा प्रचलनमा रहेको लोकविश्वास छ । पहिले निकै धेरै सङ्ख्यामा कामरनाथुहरू हुन्थे । आजभोलि कामरनाथुको सङ्ख्या कम हुँदै गइरहेको छ र मधानी अनुष्ठान पनि घट्दै गइरहेको छ । लोप हुनबाट जोगाउन केही वर्षदेखि महाशिवरात्रीको अवसरमा रौतहटको मौलापुर नगरपालिकाले मधानी महोत्सवको आयोजना महाशिवरात्रीको अवसरमा गर्न थालेको छ । नेपालको मधेश प्रदेशको मौलिक संस्कृतिको रुपमा रहेको यस मधानी लोकअनुष्ठानको संरक्षण र सम्वद्र्धन आवश्यक छ । साथै यस लोकअनुष्ठानको सांस्कृतिक दृष्टिकोणले अध्ययन अनुसन्धान हुनु पनि जरुरी देखिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =