सर्लाहीको बलरामा मनाइयो अन्तर्राष्ट्रिय मातृभाषा दिवस
खबर पालिका
२०७९ फागुन ९ गते १८:४४

सर्लाही- फाल्गुन ९,

अन्तर्राष्ट्रिय मातृभाषा दिवस सर्लाहीको बलरामा मनाइएको छ । बलरामा रहेको काका सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष डा. कमलेश्वरकुमार सिन्हाका अध्यक्षता तथा बलरा नगरपालिकाका प्रमुख रामाशंकर कुशवाहाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बज्जिका भाषाको विकासका विविध पक्षमाथि चर्चा गरिएको छ । युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय काठमाडौँको सहयोगमा काका सामुदायिक सिकाइ केन्द्र बलराद्वारा आयोजित चौबिसौँ अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा बोल्दै डा. सिन्हाले बज्जिका भाषाको इतिहास निकै पुरानो भएको र काका सामुदायिक संस्था मातृभाषाको विकासमा निरन्तर क्रियाशील रहेको बताएका छन् ।

कार्यक्रममा बज्जिका साहित्यकार सञ्जय सुदामाले बज्जिका भाषाको इतिहासका विभिन्न पक्षमाथि प्रकाश पार्दै नेपालमा बज्जिका भाषाको इतिहास र वर्तमान अवस्थामाथि पनि प्रकाश पारेका छन् । युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय कार्यालयका सहायक महासचिव रामेश्वर यादव, साहित्यकार रामचन्द्र महतो कुशवाहालगायतले मन्तव्य व्यक्त गर्दै मातृभाषा बज्जिकाको विकासमा आइरहेको चेतनाको साथै साहित्य सिर्जना तथा अनुसन्धान पनि आवश्यक रहेको बताएका छन् ।

कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख कुशवाहाले बज्जिका भाषाको विकासमा नगरपालिकाको तर्फबाट निरन्तर सहयोग भइरहेको स्पष्ट पार्दै नगरपालिकाको तर्फबाट बज्जिका भाषाको क्षेत्रमा ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विगतमा पनि बज्जिका पाठ्यपुस्तक लेखन तथा प्रकाशनमा काका सामुदायिक सिकाइ केन्द्र बलराले ऐतिहासिक काम गरेको छ । डा. सिन्हाको सक्रियताबाट सर्लाहीमा बज्जिकाको जागरण बढ्नुका साथै भाषा र साहित्यको संरचनामे निकै काम भएको भन्दै कार्यक्रममा सहभागीहरुले प्रशंसा व्यक्त गरेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =