बलियो टोलीसँग क्रिकेट खेल्न मौका पाएका छौँ : कप्तान पौडेल
फाल्गुन २८,
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एकदिवसीय मान्यता जोगिएपछि आउँदा दिनमा बलियो टोलीसँग थप क्रिकेट खेल्ने मौका पाउने बताएका छन् ।
भ्रमणकारी टोली यूएईलाई आइतवार १ सय ७७ रनकाे फराकिलाे अन्तरले हराएपछिको पत्रकार सम्मेलनमा बोल्दै कप्तान पाैडेलले एकदिवसीय मान्यतापछि नेपालले बलियो टोलीसँग खेल्दै थप अनुभव बटुल्ने मौका मिल्ने बताएका हुन् । उनले विश्व कप छनोटमा पुग्नका लागि थप दुई खेलमा सुखद नतिजा निकै महत्त्वपूर्ण रहेको भन्दै ती खेलमा पनि केन्द्रित हुने प्रतिक्रिया दिए ।
टोलीमा नयाँ प्रशिक्षक मोन्टी देसाई आएसँगै खेलाडीलाई खुलेर खेल्ने अवसर भएको र त्यहीअनुसार सबै खेलाडीले मेहनतका साथ खेल्दा सफलता मिलेको कप्तान पाैडेलले बताए । एकदिवसीय मान्यता कायम भएसँगै नेपाली क्रिकेट थप व्यस्त हुने र धेरैभन्दा धेरै खेलाडीले मौका पाउने उनले बताए ।
यस्तै नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले नेपाल क्रिकेट सङ्घसँग जोडिएको दिनदेखि टोली बनाउन लागेको र अहिलेसम्मको यात्रा सुखद भएकोमा खुसी व्यक्त गरे । आफ्नो रणनीति हरेक खेलमा सफल हुने गरेको र खेलाडीलाई दिइएको भूमिकालाई उनीहरूले राम्रोसँग निभाएकाे उनकाे भनाइ छ । खेलअघि केही कठिन निर्णयहरू गर्नुपरेको र रणनीति बनाउँदा आफू सफल भएकोमा उनले खुसीसमेत व्यक्त गरे ।
आजकाे खेलमा सर्वाधिक पाँच विकेट लिएका स्पिनर ललितनारायण राजवंशीले जितको सदस्य बन्दा खुसी लागेको प्रतिक्रिया दिए । उनले आफू टाेलीबाहिर रहे पनि टोलीको जितमा निकै खुसी भएको र टाेलीमा पर्नैपर्ने आकाङ्क्षा आफूमा नभएको बताए । एकदिवसीय मान्यता पाएसँगै नयाँ खेलाडीले अवसर पाउने र नेपालले अन्य बलिया टोलीसँग अनुभव बटुल्ने अवसर मिल्ने उनले बताए । यस्तै गुल्सन झाले पनि प्रशिक्षकले दिएको भूमिकामा न्याय दिन सकेको भन्दै खुसी व्यक्त गरे ।
लिग–२ अन्तर्गत नेपालले अब दुई वटा खेल खेल्न बाँकी छ । यसैअन्तर्गत नेपालले सोमवार अर्को पहुना टोली पपुवा न्युगिनी (पीएनजी) सँग खेल्नेछ । नेपालले बाँकी दुइटै खेल जिते विश्व कप छनोट खेल्ने मौका बनाउनेछ ।
साभार उज्यालो अनलाईन
Facebook Comment