नेकपा एमालेलाई बलियाे राष्ट्रिय शक्ति बनाउनुपर्छ : शंकर पाेखरेल
खबर पालिका
२०७९ चैत १९ गते १८:०३

चैत्र १९,

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरतालाई अन्त्य नगरि दिगो विकासको आधारशीला तयार गर्न नसकिने बताउनुभएको छ ।

आइतवार लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देशमा राजनीतिक अस्थिरतालाई अन्त्य गर्न नेकपा एमालेलाई देशको बलियो राष्ट्रिय शक्ति बनाउनुपर्ने जिकिर गर्नुभयो । एमाले बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित नभइकन देश निर्माणको राष्ट्रिय आकाङ्क्षा पूरा हुन नसक्ने उहाँको दाबी थियो ।

उहाँले भन्नुभयो, ‘हामीले नेकपा एमालेलाई देशको बलियो राष्ट्रिय शक्ति बनाउनुपर्नेछ । देशमा राजनीतिक अस्थिरता अन्त्य नगरिकन दिगो विकासको आधारशीला तयार गर्न सकिँदैन । देशलाई अघि बढाउन नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्तिका रूमा विकसित गर्न जरुरी छ ।’

महासचिव पोखरेलले नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धन हुँदा देशमा अवैध अर्थतन्त्र, कालोबजारी, तस्करीलगायतका गतिविधिलाई प्रोत्साहित गर्दा अर्थतन्त्रको अवस्था दयनीय बनेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पाँच दलीय गठबन्धनले देशमा आर्थिक अवस्थामा जटिलता सिर्जना गर्ने काम गर्‍याे । देशमा अवैध अर्थतन्त्र, कालोबजारी, तस्करीलगायतका क्रियाकलापका कारणले राष्ट्र बैंकले जारी गरेका नोटहरू अचानक बजारबाट हराए । न बैंकमा नेपाली रुपैयाँ पाउँछ, न बजारमा नेपाली रुपैयाँ पाउँछ । एक प्रकारले देशमा मौद्रिक तरलताको सङ्कट ल्याउने काम तत्कालीन सरकारले गरेको छ । त्यस्ता समस्याको समाधान गर्ने सामर्थ्य कसैले गर्छ भने त्यो एमालेले मात्रै गर्छ ।’

महासचिव पोखरेलले राजनीतिक स्थायित्व दिन नसक्दा देश बन्न नसकेको बताउनुभयो ।

साभार उज्यालो अनलाईन




Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + sixteen =