सुडानमा भएको सत्ता सङ्घर्षमा हिंसात्मक घटना : राष्ट्र सङ्घका ३ जना कर्मचारीसहित २७ जनाको ज्यान गएको पुष्टि
खबर पालिका
२०८० वैशाख ३ गते १७:५२

बैशाख ३,

सुडानमा भएको सत्ता सङ्घर्षमा हिंसात्मक घटना भएको छ । सेना र सरकारी अर्धसैनिक बल आर.एस.एफबीचको लडाइँमा कम्तीमा २७ जना मारिएका छन् ।

ज्यान गुमाउनेमा ३ जना संयुक्त राष्ट्र सङ्घका कर्मचारी रहेका बीबीसीले जनाएको छ । उनीहरुलाई सैनिक शिविरमा दुई पक्षबीच गोली हानाहान हुँदा गोली लागेको थियो । घटनामा दुई सय जनाभन्दा धेरै घाइते भएका छन् । राजधानी खार्तुम सहरको आकाश धुवाँले भरिएको छ । सुडानको सेनाले नागरिकलाई घरभित्रै बस्न आह्वान गरेको छ ।

राजधानी खार्तुममा आज सार्वजनिक बिदाको घोषणा गरिएको छ । खार्तुम राज्य सुरक्षा समितिले नागरिकहरूको जीवन सम्पत्ति जोगाउन यो कदम चालेको जनाएको सीएनएनले उल्लेख गरेको छ । हिजो बिहानैदेखि दुई पक्षबीच झडप सुरु भएको हो ।

अर्धसैनिक बलले कम्तीमा तीनवटा विमानस्थल, सेना प्रमुखको निवास र राष्ट्रपति भवनलाई नियन्त्रणमा लिएको दाबी गरे पनि सेनाले अस्वीकार गरेको खबरमा उल्लेख छ । पुल र सडकहरू बन्द हुँदा मानिसहरू बाटोमै थुनिएका छन् ।

सुडानमा नागरिक शासनबारेको प्रस्तावित सङ्क्रमणको अवस्थाका विषयमा विवाद रहेको छ । सन् २०२१ को अक्टोबरमा भएको एउटा विद्रोहपछि सुडानमा सैन्य जनरलहरूले सार्वभौम परिषद् भनिने संयन्त्र बनाएर राज्य सञ्चालन गर्दै आएका छन् ।

आर.एस.एफ परिषद्का उपाध्यक्ष जनरल मोहम्मद हमदान डगालोको नेतृत्वमा छ । परिषद्को प्रमुखमा सेनाका समेत प्रमुख रहनुभएका जनरल अब्देल फताह अल–बुर्हान हुनुहुन्छ । नागरिक नेतृत्वको सरकारको प्रस्तावमा आर.एस.एफ.लाई राष्ट्रिय सेनामा समायोजन गर्ने तालिकामा बनाएको छ ।

आर.एस.एफ. ले समायोजन १० वर्ष पछि गर्न चाहे पनि सेनाले दुई वर्षभित्र सक्नुपर्नेमा जोड दिएपछि तनाव बढेको बीबीसीले जनाएको छ । प्रस्तावित नागरिक सरकारमा एकीकृत सेनाको नेतृत्व कसले गर्ने भन्ने कुरामा पनि सेना र आर.एस.एफ बीच विवाद छ ।

साभार उज्यालो अनलाईन




Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − six =