एक दशकमा फेरिएको मौलापुर ः गाउँबाट बन्यो सहर
खबर पालिका
२०८० जेठ २१ गते ९:०७

मदन ठाकुर
सक्षम र इमानदार नेतृत्व भयो भने गाउँको विकास पनि सम्भव छ । यस भनाइको पुष्टि गर्दछ एक दशकमा मुहार फेरेको रौतहटको मौलापुरले ।
पहिले रौतहटको अति दुर्गम भनेर चिनिने मौलापुरको पहिचान नै बदलिएको छ । जहाँ कुनै पनि महिना कतैबाट पनि पुग्न मुस्किल थियो त्यहाँ अहिले चारैतिरबाट पुग्ने पक्की सडकको निर्माण भइसकेको छ । मौलापुर त्यस्तो बस्ती थियो जहाँ साइकलबाहेक अन्य कुनै पनि सबारी साधन पुग्न सम्भव थिएन तर आजभोलि देशको राजधानीसहित अन्य प्रमुख सहरसम्म पुग्ने सार्वजनिक बस मौलापुरमै पाइन्छन् ।
अति दुर्गम मौलापुरलाई विकसित तुल्याउन नगर प्रमुख रिनाकुमारी साह र पूर्वमन्त्री प्रभु साहको कठोर परिश्रम रहेको छ ।
मौलापुरको हरेक बस्तीसम्म ढलान सडक पुगेको छ । बस्तीभित्रको अधिकांश गल्लीमा नालासहितको ढलान सडक छ । नगरपालिकाले दश किलोमिटरभन्दा लामो पिच पनि बनाएको छ । मौलापुर हुँदै पूर्व–पश्चिम र उत्तर–दक्षिण पक्की फराकिलो सडक बनिसकेका छन् जसमा सार्वजनिक यातायात सञ्चालन हुन्छन् । पालिकाबाटै सडक ढलान र पिच निर्माण गर्ने कार्यमा मौलापुर नगरपालिकाले अकल्पनीय प्रगति गरेको छ । पालिकाले कच्ची सडकमुक्त अभियान नै सञ्चालन गरेको थियो ।
सडकसँगै चोकहरुको निर्माण गरेपछि गत दश वर्ष भित्रैमा दर्जनौँ चोक र बजारको विकास भएको छ । सयौँ पसलहरु खुलेका छन् । निर्माण सामग्रीदेखि घरायसी प्रयोजनका सामान किन्न बाहिर जानुपर्ने प्रवृत्तिमा निकै कमी आएको छ । बाहिरबाट सामान किन्न मौलापुर आउनेहरु बढेका छन् । हजारौँ स्वरोजगार भएका छन् ।
नगरपालिकाले मौलापुर र मर्यादपुरमा एकीकृत दलित बस्ती विकास गरेको छ । डोम र चमारजस्ता अति पछाडि परेका दलित समुदायको घरघडेरीको जमिनलाई एकीकृत गरी सबैलाई पुग्ने घर बनाउने नमुना काम गरेको छ । दलितहरुको घर निर्माणमा प्रदेश सरकारले पनि सहयोग गरेको छ ।
भौतिक पूर्वाधारमा ठूलो प्रगति गरेको मौलापुरले शिक्षामा पनि ठूलो फड्को मारेको छ । नगरको सम्पूर्ण बजेटको ४२ प्रतिशतभन्दा बढी शिक्षामा खर्चेको नगरपालिकाले जग्गा खरिद गरी चारओटा माध्यमिक विद्यालय निर्माण गरी आफ्नै दरबन्दीमा सञ्चालन गरेको छ । यसै गरी प्राविधिक शिक्षालय पनि सञ्चालन गरिरहेको छ । आफ्नै लगानीमा प्राविधिक शिक्षा सञ्चालन गर्ने सम्भवतः प्रदेशकै पहिलो पालिका मौलापुर हुुनुपर्छ । मौलापुरले छात्रालाई सेनेटरी प्याड वितरण अभियानको सञ्चालन गरेको थियो । यसै गरी छात्रालाई साइकल वितरण अभियानको सञ्चालन गरेको थियो । यी दुवै अभियानलाई प्रदेश सरकारले ग्रहण गरेको थियो । अहिले पनि उच्च शिक्षा अध्ययनरत छात्रालाई नपाले ल्यापटप छात्रवृत्ति दिइरहेको छ ।
ल्यान्ड पुलिङ मौलापुर नपाको निकै ठूलो प्रोजेक्ट हो । व्यवस्थित बजार विस्तारको लागि सर्वसाधारणको पचासी बिघा जमिनलाई एकीकृत गरी नालासहितको फराकिलो सडक निकालेर केही प्रतिशत जमिन सार्वजनिक उपयोगको लागि छुट्याइएको छ भने बाँकी रहेको सम्पूर्ण जमिन सम्बन्धित धनीलाई नै दिइएको छ । यसअघि पनि बजारलाई व्यवस्थित गर्न घडेरी विकास तथा व्यवस्थित सडक सञ्जालको व्यवस्थापनमा सफल मौलापुरले ल्यान्ड पुलिङ प्रोजेक्टमार्फत भविष्यको अत्यन्त व्यवस्थित सहरीकरणको सम्पूर्ण खाका तयार पारिसकेको छ ।
कृषिमा सम्पूर्णतः आत्मनिर्भरताको लागि मौलापुरको प्रयास अनुकरणीय छ । खेतसम्मै पुग्ने कृषि सडकको अभियान सञ्चालन गरेको मौलापुरले खेतखेतसम्म बिजुली पु¥याएको छ । बिजुलीको पोल र तारको पैसा नपाले बेहोरेको छ भने किसानलाई आवश्यकतानुसार कृषि मिटर पनि निशुल्क उपलब्ध गराएको छ । सिंचाइको लागि बोरिङ पनि नपाले गर्ने गरेको छ भने कृषि मिटरमा लाग्ने सम्पूर्ण विद्युत महसुल पनि नपाले नै तिर्ने गरेको छ । किसानलाई आधुनिक बीउ वितरण गर्ने गर्दछ भने व्यावसायिक कृषिको लागि व्यवस्थित कृषि बजारको निर्माण, सञ्चालन तथा व्यवस्थापन गरेको छ । कृषकलाई बालीको बिमा गराउन प्रोत्साहन गरिरहेको नपाले पशुपालनलाई पनि प्रोत्साहन गरिरहेको छ । हालै कृषि तथा पशु अस्पताललाई नपाले सञ्चालनमा ल्याएको छ । कृषि उपजलाई भन्डार गर्न नगरपालिकाले शीत भन्डार (कोल्ड स्टोर) को निर्माण गरिरहेको छ । आगामी वर्ष शीत भन्डारको निर्माण सम्पन्न हुने सम्भावना रहेको छ ।
आफैँले दरबन्दी सिर्जना गरी नपाले व्यवस्थित सामुदायिक अस्पताल सञ्चालन गरिरहेको छ । एमबिबिएस डाक्टर राखेर अस्पतालले चौबिसौ घन्टा सेवा दिइरहेको छ । मौलापुर नपाले धेरै प्रकारको औषधि पनि निःशुल्क उपलब्ध गराइरहेको छ ।
मधानी महोत्सव मौलापुरको पहिचान बनिसकेको छ । गत पाँच वर्षदेखि महाशिवरात्रीको अवसरमा पुरातात्विक महादेव मन्दिरमा आयोजना हुने मधानी महोत्सवमा हरेक वर्ष दशौँ लाख मानिस पुग्ने गरेका छन् । पुरातात्विक महादेव मन्दिरको उत्खनन नपाकै अग्रसरमा भएको छ । यसको ऐतिहासिकता तथा पुरातात्विक अध्ययन देशी तथा विदेशी पुरातत्वविद्हरुसित गराएको छ । मन्दिरको निर्माण पनि गरेको छ । यस क्षेत्रमा मात्र सीमित रहेको भगवान शिवको एउटा विशिष्ट अनुष्ठान मधानीलाई विश्वमा परिचित गराएको छ । नेपालको एक सय उत्कृष्ट पर्यटकीय गन्तव्यमा परिसकेको पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सुचिकृत गराउने प्रयास नपाले गरिरहेको छ । साथै पर्यटकीय क्षेत्र निर्माणमा अग्रसरता देखाउँदै नपाले पिकनिक पार्क तथा व्यवस्थित र सुविधा सम्पन्न होटलको निर्माण गरेको छ । बाल उद्यान तथा खोलामा बोटिङको व्यवस्था पनि गरेको छ ।
धुँवामुक्त भान्सा अभियान सञ्चालन गरेर मौलापुर नपाले घरघरमा ग्याँस सिलिन्डर, चुलो तथा रेगुलेटर र पाइपसहितको सम्पूर्ण सेट नै पु¥याइसकेको छ । हरेक घरमा खपत हुने बिजुलीको महसुल नगरपालिकाले नै तिरिरहेको छ । विपन्न तथा दलितको छोरीको विवाहको लागि निरन्तर आर्थिक सहयोग पनि मौलापुर नगरपालिकाले गर्दै आएको छ । नगरपालिकाले आफ्नै लगानीमा मौलापुर एफएम रेडियो पनि सञ्चालन गरेको छ ।
नागरिकसित कुनै पनि कर नलिएको मौलापुर नगरपालिकाले हरेक वर्ष कात्तिकमा छठघाट निर्माणमा आर्थिक सहयोग गर्ने गरेको छ । यसै गरी सरस्वती पूजामा हरेक विद्यालयलाई आर्थिक सहायता उपलब्ध गराउने गरेको छ ।
दोस्रोपटक नगर प्रमुखमा निर्वाचित रिनाकुमारी साहले “एउटा पालिकाले सर्वसाधारणलाई दिन सकिने हदैसम्मको सुविधा दिँदै भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति आदि क्षेत्रमा अधिकतम काम गर्ने प्रयत्न गरिरहेको” बताउँछिन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eleven =