गाउँपालिकाका पूर्वअध्यक्षको भारतीय गाडीले मानिसको मृत्यु भएपछि सर्लाहीमा तनाव
मदन ठाकुर
रौतहट, जेठ ३१
सर्लाहीको चन्द्रनगर गाउँपालिकाका पूर्व अध्यक्षको भारतीय नम्बर प्लेटको ठक्करले एक जनाको मृत्यु भएपछि लफडा बढेको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका ९ खोरियाटोलमा चन्द्रनगर गापाका पूर्व अध्यक्ष महेद्र महतो सुडी सवार भारतीय स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थानीय आक्रोशित बनेका हुन् ।
मृत्यु हुनेमा चन्द्रनगर गाउँपालिका २ का करिब ४० वर्षिय मनोज महतो रहेका छन् । महतोको मृत्यु भएपछि स्थानीय तथा मृतकाका आफन्तले सडकमा टायर बालेर चक्काजाम गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शकारीहरुले पूर्व गापा अध्यक्षलाई पक्राउ गरी कार्वाही गर, महेन्द्र महतो मुर्दावाद लगायतको नारा लगाएका छन् । चन्द्रनगर गाउँपालिकाका स्थानीय अजय महतोले पूर्व गापा अध्यक्ष महेन्द्र महतो सुडीले सुनियोजित तरिकाले घटना घटाएको आरोप लगाएका छन् ।
पूर्व अध्यक्ष सुडी र मृतकको गाउँ एउटै भएको कारण पुरानो व्यक्तिगत रिसइवीले आफनो दिशा छोडेर मोटरसाइकल भएको दिशामा स्कारपियो ल्याई मनोजलाई ठक्कर दिई हत्या गरेको अजयको आरोप रहेको छ । पूर्व गापा अध्यक्षलाई कारबाही नगरुन्जेल स्थानीयले आन्दोलन चर्काइरहने अजयको दाबी छ ।
दुर्घटनाका प्रत्यदर्शी दलेश्वर जैशले सबारी दुर्घटनालाई दुर्घटना नभई दुर्घटनाको आडमा नियोजित हत्या भएको आरोप लगाएका छन् । प्रत्यक्षदर्शी जैशले अध्यक्ष महेन्द्र महतो सुडी सवार स्कारपियो आफ्नो दिशा छोडेर मृत्क मनोजले मोटरसाइकल गुडाइरहेको दिशामा आएर ठोक्किएपछि ठूलो आवाज आएको बताएका छन् ।
अर्का प्रत्यक्षदर्शी प्रदीप चौधरीले पनि स्कारपियोले मोटरसाइकलाई ठक्कर दिँदा ठुलो आवाज आएको, घटना स्थलमा पुग्दा मृतकको तिघ्राको मासु र हाड छुटिएको अवस्थामा आफूले देखेको बताएका छन् ।
यसै गरी अर्का प्रत्यक्षदर्शी रामकैलाश चौधरीले स्कारपियोले मृतक सवार मोटरसाइकल ठोकिएपछि आफूहरु रोक रोक भनेको र केही पर गएर पूर्व गापा अध्यक्ष सुडी गाडीबाट ओर्लेको बताउँदै मानिसको संख्या बढी देखेपछि पुनः स्कारपियोमा चढेर फरार भएको बताएका छन् ।
बयलबास भेल्ही सडकखण्ड अन्तर्गत दक्षिणबाट उत्तरतर्फ बैयलबास जाँदै गरेका मृतक मनोज सवार ज २ प ६४५२ नम्बरको मोटरसाइकललाई उत्तर दिशाबाट दक्षिण बबरगंजतर्फ जाँदै गरेको पूर्व गापा अध्यक्ष सुडी सवार बिआर ३९ पि २४५९ नम्बरको भारतीय स्कारपियोको मंगलवार ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका मनोजलाई उपचारको लगि बर्दिवास लाँदै गर्दा बाटैमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
पूर्व गापा अध्यक्ष सवार स्कारपियो ठक्कर दिएर भागेको भनिएको सबारी साधनलाई प्रहरीले बरामद गरेको र चालकलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले दोषीमाथि कारबाही गरिने बताइरहेको भए पनि पीडितहरुले अझै पनि फरार पूर्व गापा अध्यक्ष सुडीलाई पक्राउ गर्न दबाब दिइरहेको बताएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपि दिपेन्द्र पंजियार थारुले अझै पनि अवस्था तनावग्रस्त रहेको बताएका छन् ।
आफूहरुले ठक्कर दिने गाडी तथा चालकलाई नियन्त्रणमा लिइसकेको भए पनि घटनालाई राजनीतिकरण गरिएको र पूर्व गापा अध्यक्ष सुडीलाई नियन्त्रणमा लिई कारबाही नगरेसम्म आन्दोलन जारी रहने पीडितहरुको अडान रहेको बताएका छन् । (नागरिक न्युजबाट)
Facebook Comment