रास्वपाको पहिलो वर्ष ऊर्जाशील र सौहार्दपूर्ण रह्यो : सभापति लामिछाने
असार ७,
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको पहिलो वर्ष सकारात्मक, ऊर्जाशील र सौहार्दपूर्ण रहेको बताउनुभएको छ ।
पार्टी स्थापना दिवसका अवसरमा आज बिहीवार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीको एक वर्षे यात्राको समीक्षा गर्दै भन्नुभयो, ‘यो एक वर्ष अत्यन्त सकारात्मक, ऊर्जाशील र सौहार्दपूर्ण रह्यो । नेपालीले आशा र भरोसाका रूपमा हेरेको नयाँ सफल पार्टीका रूपमा लिएका छौँ ।’
सभापति लामिछानेले पार्टीलाई विस्तार गरेर नागरिकको विश्वासअनुसार परिणाममुखी बन्नु अबको चुनौती भएको बताउनुभयो । ‘उपचुनावसम्म आइपुग्दा आमनागरिकलाई हामी नयाँ पार्टी, नयाँ मान्छे आएको जानकारी भयो’, उहाँले भन्नुभयो, ‘सम्पूर्ण नागरिकमाझ पुगेर विश्वासलाई मतमा रूपान्तरण गर्न सक्ने गरी सङ्गठन विस्तार गर्नुपर्ने चुनौती छ ।’
उहाँले पार्टीले चाहेजस्तो नेतृत्वलाई समावेश गरेर सङ्ख्याका रूपमा मात्र ठूलो नभई आन्तरिक लोकतन्त्रलाई कायम राखेर परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले रास्वपाको संसदमा भूमिका अझ मर्यादित र सशक्त हुने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा पूर्वबैंकर अनिलकेशरी शाह औपचारिकरूपमा रास्वपा प्रवेश गर्नुभएको छ । उहाँलाई प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी दिइएको छ ।
साभार उज्यालो अनलाईन
Facebook Comment