जनताको सेवामा समर्पित हुन नेता नेपालको आह्वान
मदन ठाकुर
रौतहट, असार १०
पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको सेवामा समर्पित हुन जनप्रतिनिधि तथा कार्यकर्ताहरुलाई आह्वान गरेका छन् ।
गृहनगर रौतहटको गौर नगरपालिकाको बारौँ नगर अधिवेशनलाई आइतवार प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेता नेपालले जनप्रतिनिधिहरुलाई रचनात्मक काम गर्न तथा पार्टीका नेता कार्यकर्तालाई सहयोग गर्न आह्वान गरेका हुन् ।
गत वर्षदेखि नै गौर नगरपालिकाले निकै राम्रोसँग कार्य सम्पादन गरिरहेकोमा प्रशंसा गर्दै नेता नेपालले राम्रो काम गर्ने नगरपालिका तथा गाउँपालिकालाई थप विकासको रकम उपलब्ध गराउन नेपाल सरकारसित माग गरेका छन् । कार्य सम्पादनमा गौर नगरपालिका मधेश प्रदेशमा नै उत्कृष्ट भएको थियो । मधेश प्रदेशमा सर्वोत्कृष्ट कार्य सम्पादन गर्ने गौर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीलाई नेता नेपालले बधाई दिँदै अझ राम्रोसित काम गर्ने चुनौती थपिएको पनि बताएका छन् ।
नेता नेपालले गौर नगरपालिकाका गरिब घर परिवारलाई पहिचान गरी परिचयपत्र उपलब्ध गराउन र रोजगारीको अवसर प्रदान गर्न नगर प्रमुख शम्भु साह कानुसित आग्रह गरेका छन् ।
यसै गरी नेता नेपालले जिल्लाको ठूलो समस्याको रुपमा रहेको टिर ब्याज पीडितको पक्षमा छिटो छरितोसँग काम गनै स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । गरिबलाई दुःख दिएर पैसा कमाउने र अर्काको सम्पत्ति लिलाम गर्ने, बेच दिने, हडप्ने जस्ता कार्य रोक्न पूर्व प्रधानमन्त्री नेपालले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।
गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह कानुले नगर अधिवेशनमा आउँदो आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार तथा खेलकुदलाई प्राथमिकतामा राखी नगर प्रमुख साहले लोकप्रिय नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
नगर अधिवेशनमा उपप्रमुख शैलदेवी साहको तर्फबाट नगर प्रवक्ता तथा वडाध्यक्ष अर्जुन सिंहले आगामी आर्थिक वर्षको लागि ६८ करोड ३६ लाख रुपैयाको अनुमानित आय व्यय प्रस्तुत गरेका छन् । (नागरिक अनलाइनबाट)
Facebook Comment