गाँजासहित पक्राउ परेका गाउँपालिका अध्यक्षको कैद फैसला उच्च अदालतद्वारा सदर
खबर पालिका
२०८० असोज २२ गते १५:३४

असोज २२,

लागुऔषध (गाँजा) सम्बन्धी मुद्दामा दोषी ठहर भएका निसिखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीको मुद्दामा उच्च अदालत पोखरा, बाग्लुङ इजलासले जिल्ला अदालत बाग्लुङको फैसलालाई नै सदर गरेको छ ।

उच्च अदालतका न्यायाधीशद्वय मदन पोख्रेल र माधविन्द्रराज रेग्मीको संयुक्त इजलासले जिल्ला अदालत बाग्लुङको तीन वर्ष छ महिना कैद फैसला सदर गर्दै घर्तीलाई थप ५० हजार रुपैयाँ जरिबानाको फैसला गरेको अदालतका सूचना अधिकारी शिवप्रसाद गौतमले जानकारी दिनुभयो ।

जिल्ला अदालत बाग्लुङले २०७९ पुस ३ गते घर्तीलाई लागुऔषध कारोबारमा संलग्न भएकोमा दोषी ठहर गर्दै कैद फैसला सुनाएको थियो । त्याे फैसलाविरुद्ध घर्तीले २०८० जेठ ३ गते उच्च अदालत पोखरा, बाग्लुङ इजलासमा पुनरावेदन दिएका थिए ।

अहिले गाउँपालिका अध्यक्ष रहेका घर्ती निसीखोला–६ को वडाध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका थिए । घर्तीलाई जिल्ला अदालत बाग्लुङले कैद फैसला गर्दा उनी गाउँपालिका अध्यक्षमा निर्वाचित भइसकेका थिए ।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका तत्कालीन प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई निवासबाटै पक्राउ गरेको थियो । बुर्तिवाङ बजारमा गाँजा सेवन गर्ने युवालाई पक्राउ गरी अनुसन्धान गर्ने क्रममा आपूर्तिकर्ताको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो ।

साभार उज्यालो




Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 13 =