सिके राउतको चरित्र आपराधिक छ: उपेन्द्र यादव
खबर पालिका
२०८० वैशाख ४ गते २१:३१

बैशाख ४,

जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतको चरित्र आपराधिक प्रवृत्तिको भएको र उनी देश बाहिरको शक्तिकेन्द्रबाट परिचालित भएको आरोप लगाएका छन्।

बारा २ को प्रतिनिधिसभा सदस्यका सत्ता गठबन्धनका साझा उम्मेदवार यादवले सिके राउत बाह्य शक्तिकेन्द्रबाट परिचालित पात्र भएकोले जसपा विरुद्ध भ्रमको खेती गरेर मधेसलाई कमजोर बनाउन चाहेको आरोप लगाएका हुन्।

सोमबार बाराको महागढीमाई नगरपालिका वडा नम्बर ६ मा चुनावी घरदैलोका क्रममा सन्चारकर्मीसँग कुरा गर्दै यादवले भने, ‘सिके राउत को हुन रु कहाँबाट परिचालित छन् रु के का लागि परिचालित छन् रु भन्ने कुरा रहस्यमयी छ, यस बारे धेरै कुरा खोज्नुपर्छ र बिस्तारै खुल्दै जानेछ।’

देशको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई खण्डित गर्ने राष्ट्रघाती र देशद्रोही बनेर राउतले राजनीतिक यात्रा सुरु गरेको स्मरण गराउँदै यादवले अहिले पनि राउतको बोली र व्यवहार दुवै राष्ट्रघाती, देशद्रोही र आपराधिक चरित्रको नै भएको टिप्पणी गरे।

मधेसलाई नेपालबाट टुक्राउने नारा छाडेर मूलधारको राजनीतिमा सिके राउत आइसकेका छन् नि त भन्ने प्रश्नमा यादवले भने, ‘सिके राउत अहिले पनि राष्ट्रघाती र देशद्रोही नै हुन्, किनकि उनको व्यवहार र गतिविधि अहिले पनि हिजोको राष्ट्रघाती जस्तै छ।’

राजनीतिक एजेन्डा विहीन राउतले सिद्धान्तहीन, विचारहीन, आदर्शहीन र चरित्रहीन तथा आपराधिक मनोवृत्ति भएकाहरूले मधेसमा जातिवादको विष घोलेर समाजलाई कमजोर बनाएर फेरि मधेसीलाई गुलाम बनाउने षडयन्त्रमा लागेको अध्यक्ष यादवको आरोप छ।

बारा २ मा उपेन्द्र यादव बाहिरिया उम्मेदवार हुन् भन्ने आरोपको खण्डन गर्दै यादवले भने, ‘आफ्नै देशको नागरिक आफ्नै देशमा बाहिरिया हुन्छ कि अमेरिकी नागरिक (सिके राउत) ले लिएर आएको भाडाको उम्मेदवार बाहिरिया हुन्छ? यसको जवाफ वैशाख १० मा बारा २ का जनताले दिनेछन्।’

बारा २ को जनताले देखाएको समर्थन र मायाले आफ्नो जीत सुनिश्चित भइसकेको दाबी गर्दै यादवले भने, ‘मतान्तर अझ धेरै बढाउनका लागि हामी जनताको घरदैलोमा पुगिरहेका छौ।’

मधेसका दलित र उत्पीडित समुदायले पाएका अधिकार मधेस आन्दोलनकै उपलब्धि भएको जिकिर गर्दै यादवले भने, ‘दलित समुदायले अझै धेरै अधिकार पाउन बाँकी छ। शिक्षा, स्वास्थ्य, रोजगार र आवास दलितका मुख्य आवश्यकता हुन्, यसलाई राज्यले सम्बोधन गर्नैपर्छ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 16 =