आफ्नो पक्षको माहोल टिकाइ राख्ने प्रयासमा रवि
खबर पालिका
२०८० वैशाख ५ गते २१:३९

बैशाख ५,

४ मंसिरको आमचुनाव अघि रवि लामिछाने चितवनमा निस्किँदा घन्टीको एकोहोरो किरिङरिङ आवाज घन्किराख्थ्यो । युवा, महिला मात्र होइन, वृद्धवृद्धाहरु पनि स्वतः स्फूर्त सडकमा निस्किएका देखिन्थे ।

तर, पाँच महिनापछि दोस्रो पटक हुन लागेको चुनावमा परिस्थिति फेरिएको छ । सोमबार चितवनमा लामिछानेको घरदैलो र सभा पछ्याउँदा पहिलेजस्तो अत्यधिक भीड थिएन । विगतझैँ घर-घरबाट घन्टी बोकेर निस्किनेको जमात पनि देखिएन ।

भरतपुर महानगरपालिका–२, आँपटारीमा आयोजित सभामा लामिछाने पुग्नुअघि उनका चालक दिलबहादुर थापा (शम्भु) तीन तलामाथिबाट खसेर गम्भीर घाइते भएको खबर बाहिरियो । ‘दशा नै पो लागेको छ कि क्या हो !’, एकपछि अर्को समस्या आइलागेको गरेको संकेत गर्दै आँपटारीकी ७६ वर्षीय दौलती विश्वकर्माले भनिन्, ‘गाह्रो पार्छन् जस्तो छ ।’

विश्वकर्मा बोलिरहँदा निलो झण्डा राखिएको मिनी बसमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरु आइपुगे । लामिछाने आएका हुन् कि भनेर सडक छेउ जम्मा भएकाहरुले नजर लगाए । तर, त्यहाँ कार्यकर्ता मात्र थिए ।

केहीबेर अघिसम्म २०/२२ जना मात्र देखिएको सभा स्थल एकाएक खचाखच भयो, सडक नै छेकियो । ‘राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने नै यही हो, मान्छेहरु सबैतिरबाट बोकेर ल्याएका हुन्छन्’, भरतपुरका कांग्रेस समर्थक बलराम अधिकारी आरोप लगाउँछन्, ‘त्यो देखेर मुख्य दलका नेताहरु डराएका छन् ।’

नेपाली कांग्रेस भरतपुर महानगरका कार्यवाहक सभापति बुद्धिकान्त न्यौपाने अहिले चितवन २ का वासिन्दाले लामिछानेलाई राम्रोसँग चिनेको बताउँदै यसपालि स्थानीय उम्मेदवारलाई छान्ने दाबी गर्छन् ।

साभार अनलाईन खबर




Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − twelve =