अध्यक्ष ओलीमाथि ढुंगा–मुढा गरिनुले गम्भीर प्रश्न उठेको छ: नेम्बाङ
बैशाख १३,
नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले पार्टी अध्यक्षमाथि ढुंगा–मुढा हुनुले गम्भीर प्रश्न उठेको प्रतिक्रिया दिएका छन्। उनले ‘यस्ता प्रवृत्तिलाई ठिक ठाउँमा ल्याउन सबैले भूमिका निर्वाह गर्नुपर्ने’ बताए।
‘नेपालको संविधान ढुंगा–मुढा गर्नकै लागि हो?’ अध्यक्ष ओलीसँगै गृह जिल्ला इलामको पशुपतिनगर आएका नेम्बाङले पत्रकारसँग कुरा गर्दै भने, ‘एमाले जनतासँग जान पाउँदैन? अध्यक्ष ओली जनताका समस्या बुझ्न जनतासँग जान नपाउने हो? गम्भीर प्रश्न उठेको छ।’ नेम्बाङले नेतामाथि ढुंगा–मुढा हुनु नहुने काम भएको बताए।
‘संविधान बमोजिम प्रक्रिया पूरा गरेर प्रदेशको नाम राखिएको छ। कसैलाई चित्त बुझेको हुनसक्छ, कसैलाई चित्त नबुझेको पनि हुनसक्छ,’ उनले भने, ‘चित्त नबुझेकोमा आफ्नो कुरा भन्न पनि पाइन्छ। हामी जनताका समस्या बुझ्न आएका हौँ।’
प्रदेशको नाम ‘कोशी’ राखिएको विषयलाई लिएर अध्यक्ष ओली र नेम्बाङ चढेको गाडीलाई आज दिउँसो झापाको बुधबारेमा ढुंगा प्रहार गरिएको थियो। बुधबारेमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा ओलीमाथि आक्रमण प्रयास भएको हो।
साभार नागरिक न्युज
Facebook Comment