अलपत्र पुलको निर्माणको माग गर्दै स्थानीयवासीले थालेको अनसन जारी
खबर पालिका
२०८० जेठ १७ गते १९:०७

मदन ठाकुर
रौतहट, जेठ १६
लामो समयदेखि अलपत्र अवस्थामा अधुरो निर्माण छाडेर ठेकेदार वेपत्ता भएपछि रौतहटमा पुल निर्माणको माग गर्दै स्थानीयले निर्माणाधीन पुलमुनि नै रिले अनसन सुरु गरेका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिका ३ का स्थानीयले चाँदी नदीमा निर्माणाधीन पुलको ठेकेदारले सम्झौता अनुसार काम नगरेपछि पुलको निर्माण चाँडो गर्न रिले अनसन सुरु गरेका हुन् ।
गत आइतवारदेखि थालिएको अनसनका आन्दोलनकारीहरुले सडक डिभिजन चन्द्रनिगाहपुरका प्रमुख दरोगाप्रसाद साह, ठेकेदार दयाराम साह र केही इन्जिनियरहरुको सरुवाको माग अगाडि सारेका छन् । चाँदी नदीको अलपत्र पुल निर्माण समिति बनाएर स्थानीयले सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख तथा ठेकेदार दयारामको मिलोमतोमा पुल निर्माणमा लापरवाही गरेको आरोप लगाउँदै आन्दोलन सुरु गरेका हुन् ।
२०७६ असार ३१ म पुलको निर्माण सक्नुपर्नेमा पुल निर्माणको म्याद सकिएको चार वर्ष बित्न लाग्दा पनि पुल अझै निर्माण हुन सकेको छैन । २५ करोड ३६ लाख २४ हजारमा निर्माणको ठेक्का लिएको पप्पु शिवशंकर जेभीले पटकपटक म्याद थप गरेर पनि पुलको निर्माण नगरेको आरोप स्थानीयको रहेको छ ।
संघर्ष समितिका अध्यक्ष गोविन्दप्रसाद तिमल्सिनाले पुलको निर्माण तदारुकताका साथ सुरु गर्न तथा सडक डिभिजन कार्यालयका प्रमुख साहको सरुवा दुवै नभएसम्म आफूहरुको आन्दोलन जारी रहने बताएका छन् ।
निर्माणको ठेक्का सकार गरेको छ वर्षमा पुलको निर्माण करिब ७५ प्रतिशत भएको र बाँकी २५ प्रतिशत काम गत दुई वर्षदेखि अलपत्र छाडिएको स्थानीयको भनाइ छ । पुलको निर्माणको लागि २०८० असारसम्म अन्तिम म्याद थप गरिएको भए पनि समयमा पुलको निर्माण हुनेमा स्थानीय आशावादी नभएपछि आन्दोलनको थालनी गरेका हुन् । पटकपटक गरी थपिएको म्याद सकिन करिब डेढ महिना बाँकी रहँदा पनि ठेकेदारलेका कुनै चासो नलिँदा आन्दोलनको विकल्प नभएको संघर्ष समितिका अध्यक्ष तिमल्सिनाको भनाइ छ ।
सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगाप्रसाद साहले निर्माण कम्पनीलाई स्पष्टीकरण सोधिएको बताउँदै समयमा काम सकिन कार्यालयको तर्फबाट आफूले निरन्तर दबाब दिइरहेको बताएका छन् ।
(साभार, नागरिक न्युज)




Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =