प्रचण्ड गर्मीले काकाकुल रौतहट र सर्लाही
खबर पालिका
२०८० जेठ २२ गते २२:२७

मदन ठाकुर
रौतहट, जेठ २१
केही दिनदेखि रौतहट र सर्लाहीमा प्रचण्ड गर्मीले जनजीवन अत्यन्त कष्टकर भएको छ । घरभित्र पनि गर्मी अत्यधिक हुने र घरबाहिर अत्यन्त चर्को घाम हुने भएपछि जनजीवन अत्यन्त कष्टकर भएको हो ।
असार आउन केही दिन बाँकी रहँदा कतिपय किसानले धानको बीउ ब्याडमा खसालेका छैनन् । पानी नपरेर धानको बिउ खसाल्न नपाएका किसानहरु धानको रोपाईँ ढिलो हुने आशंका गरिरहेका छन् । धानको बिउ ब्याडमा खसालिसकेका किसानहरु भने अत्यधिक चर्को कामले गर्दा सुक्ने समस्याले ग्रसित भएको बताइरहेका छन् । धानको बिउ ब्याडमा खसालेको बिस दिनमा तिनपटक ब्याडमा पानी पटाइसकेको तर पनि धानको बेर्ना अत्यधिक घामको कारण सुकिरहेको गरुडा नगरपालिका २ का किसान सियाराम साहको भनाइ छ ।
पशुपालक किसानलाई गाईबस्तुको लागि घाँसको अभाव भएको छ । फाँटमा घाँसहरु सुकिरहेका छन् । गाईबस्तुको लागि एकाबिहान घाँस लिन नजाँदा बिहानैदेखि घाम चर्किने समस्या देखिएको छ । पशुपालक किसानहरुले अत्यधिक गर्मीको कारण गाईबस्तुले निकै कम दुध दिइरहेको र घाँस पाउन मुस्किल भएको बताएका छन् ।
निरन्तर गर्मी चर्केपछि रौतहटका अधिकांश विद्यालयमा गर्मी विदा दिइसकिएको छ । अधिकांश क्याम्पस पनि ठप्प भइसकेका छन् । केही निजी विद्यालय संचालनमा रहे पनि विद्यार्थीको अत्यन्त न्युन चाप रहेको देखिएको छ ।
बिहान ९ बजेदेखि नै अत्यधिक चर्को घाम लाग्न थालेपछि घरबाट निस्कन मुस्किल भइरहेकोले व्यापार व्यवसायमा पनि असर परेको छ । दश बजेपछि बजारहरु सुनसान हुने गरेका छन् । सडकमा सार्वजनिक यातायातका साधन चले पनि यात्रुको चाप अत्यन्त कम भएको छ । यसै गरी दिउँसो सडक सुनसान हुने गरेको देखिएको छ ।
आर्थिक मन्दीले समस्याग्रस्त बनेको व्यापार व्यवसायमा अत्यधिक चर्को गर्मीले झन् प्रभावित बनेको रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पंडित प्रसाद जयसवालले बताएका छन् । भइरहेको व्यापारमा जिल्लामा कम्तीमा पचास प्रतिशतले गर्मीको कारणले व्यवसाय प्रभावित भएको अनुमान अध्यक्ष जयसवालको छ । (नागरिक न्युजबाट साभार)




Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =