अठार लाख अबैध रुपैयासहित सर्लाहीमा चार जना पक्राउ
मदन ठाकुर
रौतहट, जेठ २३
सर्लाही प्रहरीले अबैध १८ लाख रुपैयासहित चार जनालाई पक्राउ गरेको छ । सर्लाहीको हरिवन नगरपालिका ११ बाट इलाका प्रहरी कार्यालय हरिवन र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त टोलीले सबारी साधनलाई चेकजाँच गर्ने क्रममा १८ लाख अबैध रुपैयासहित चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका ३ बसामाडीका हेमराज विश्वकर्मा, खोटाङको रावावेशी गाउँपालिका ४ का विमल तामाङ, सुनसरी बराहक्षेत्र नगरपालिका ४ घर भई हाल काठमाडौँ काँडाघारी बस्ने मौसम मग्राती र सर्लाहीको बागमती नगरपालिका १ का दीपक तामाङ गरेका छन् ।
चारै जना सबार बागमती प्रदेश ०१–०२६ च ०२९९ नम्बरको कारलाई चेकजाँदा गाडीको पछाडिपट्टि डिकीमा कालो रंगको झोलामा एक हजार दशका एक सय नोट भएको १८ बिटोमा नेपाली रुपैया १८ लाख लुकाई छिपाई राखेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
सबारी साधन र रुपैयासहित चारै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । (नागरिक न्युजबाट साभार)
Facebook Comment