जिल्लाको ठूलो खोला बकैयाको पानी सुक्यो
खबर पालिका
२०८० जेठ ३० गते ६:५६

रौतहट, जेठ २९
मधेश प्रदेशका चार ठूला खोलामा एक गनिने बकैया खोलाको पानी पूर्णतया सुकेको छ । कोशी, कमला, बागमती र बकैयालाई मधेश प्रदेशका ठूला खोलामा गनिने गरिएको छ ।
बकैया खोलाको पानी पूर्णतया सुकेको यो पहिलोपटक भएको स्थानीयवासीको भनाइ छ । निजगढ क्षेत्रमा हरेक वर्ष गर्मीको समयमा पानी सुक्ने गरेको भए पनि बकैया खोला तल्लो क्षेत्रमा पहिलोपटक सुकेको ज्येष्ठ नागरिकहरुको भनाइ छ ।
बकैया नदीको पानी पूरै सुकेपछि ठाउँ ठाउँमा जन्तु जनावरका लागि खाल्डो खनिन थालिएको छ । गौर नगरपालिका नगर प्रमुख शम्भु साहले खाल्टो खनेर बकैया नदीको बगरमा बस्ने जन्तु जनावरलाई पानीको सुविधा प्रदान गरेका छन् ।
यसै गरी राजपुर नगरपालिकाका नगरपालिकाले पनि बकैया खोलामा डोजरले खाल्डो खन्ने काम गरेको छ । ठाउँ ठाउँमा खाल्डो खनेर बकैया नदीको पानीको भरमा बाँच्ने जनावरलाई सहयोग पु¥याउने काम गरिएको छ ।
बकैया नदी पूर्णतया सुकेपछि स्याल, नीलगाई, बँदेलजस्ता जनावरका साथै चराचुरुंगीलाई पनि पानी खान अप्ठ्यारो भइरहेको बताइएको छ । सुख्खा खडेरीले पानी खान नपाएर जनावर तथा चराहरु मर्न थालेको पनि बताइएको छ ।
मौलापुरका ८४ वर्षीय बिरबल साहले आफूले अहिलेको जस्तो बकैया नदीको पानी पूरै सुकेको कहिल्यै पनि नदेखेको बताउँछन् । अहिलेको जस्तो बकैया खोलाको पानी पूर्णतया सुकेर बगरमा परिणत भएको यसभन्दा पहिले आफूले कहिल्यै नदेखेको साहको भनाइ छ ।
सर्वसाधारणले जथाभावी रुख काटेको तथा चुरे क्षेत्रको विनाश भएको कारण चरम खडेरीको सामना सर्वसाधारणले गर्नुपरेको स्थानीयको बुझाइ छ । अब सम्भव भएको ठाउँमा सरकारले सर्वसाधारणलाई रुख रोप्न प्रोत्साहन गर्नुपर्ने देखिएको छ ।
रौतहटको गरुडाका विज्ञान शिक्षक प्रकाशचन्द्र झाले अत्यन्त कडा गर्मीले जनजीवन प्रभावित भइरहँदा सरकारले रुख रोप्न र नदी दोहन नगर्न विशेष कदम चाल्नुपर्ने सुझाव दिएका छन् ।
(नागरिक न्युजबाट)




Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 12 =