रौतहट र सर्लाहीमा सिंचाइको विशेष सुविधा ः माधव नेपाल
मदन ठाकुर
रौतहट, जेठ ३२
पूर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले रौतहट र सर्लाहीमा सिंचाइको विशेष प्याकेज ल्याइएको बताएका छन् । सिंचाइको सुविधा नपुगेको ठाउँको लागि सरकारले विशेष सुविधा ल्याएको बताएका छन् ।
गृहनगर रौतहट आएका नेपालले आफ्नो पार्टीको भागमा रहेको कृषि मन्त्रालयले कृषि उत्पादन बढाउनको लागि पहल गरिरहेको बताएका छन् । देशको कृषिको उत्पादनको वृद्धिको लागि मन्त्रालयले पहल गरिरहेको र रौतहट तथा सर्लाहीमा सिंचाइ सुविधाको लागि विशेष प्याकेजको रुपमा तिस अरब रुपैया विनियोजन गरिएको बताएका छन् ।
दुवै जिल्लामा सिंचाइको लागि डिप बोरिङको विशेष प्याकेजले किसानलाई सुविधा दिने नेपालको भनाइ छ । एउटा डिप बोरिङले साठी बिगाहा खेतमा सिंचाइ सुविधा उपलब्ध हुने नेता नेपालको दाबी छ । साठी बिगाहा खेतमा सिंचाइ सुविधा उपलब्ध हुनु भनेको दुई बालीको राम्रो उत्पादन हुने भएर एक सय बिस बिगाहा बराबरको उत्पादन हुने अनुमान पनि नेपालले गरेका छन् ।
राजनीतिक सन्दर्भलाई कोट्याउँदै नेता नेपालले गठबन्धनमा विभिन्न पार्टी रहेको तर नेकपा एमालेले नेकपा एसको नाम पनि सुन्न नचाहेको बताएका छन् ।
गृह जिल्ला रौतहट आउँदा नेता नेपालले स्थानीय बज्जिका भाषामा आफ्नो मन्तव्य राख्ने गरेका छन् । (नागरिक न्युजबाट)
Facebook Comment