सर्लाहीको हरिवनमा १६ जनालाई टोक्यो कुकुरले
सर्लाहीको हरिवनमा कुकुरले १६ जनालाई टोकेको छ । हरिवन नगरपालिका वडा नम्बर ८ मा १० जना र वडा नम्बर ११ मा ६ जनालाई छाडा कुकुरले टोकेको हो ।
हरिवनमा छाडा कुकुरको बिगबिगी बढेको गुनासो बढेको समयमा दुई दिनमा धेरैलाई टोकेको हो । कुकुरले टोकेका मानिसमा साढे दुई वर्षका बच्चादेखि ५४ वर्षसम्मका रहेका छन् । कुकुरले टोकेका १६ जनामध्ये दुई जनालाई उपचारको लागि काठमाडौँ रेफर गरिएको हरिवनको सासापुर स्वास्थ्य चौकीका इन्चार्ज श्यामविनोद कुशवाहाले जानकारी गराएका छन् ।
कुकुरले टोकेका अन्य बिरामीलाई भने नमुना अस्पताल हरिवन तथा प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा पुगेर रेबिज विरुद्धको खोप लगाइएको छ ।
जथाभावी मानिस र चौपायालाई देख्ने बित्तिकै झम्टन खोज्ने र आक्रमण गर्ने कुकुरलाई स्थानीयबासीले मारिसकेका छन् ।
Facebook Comment