बिरामीलाई नौ महिना पहिले म्याद सकिएको स्लाइन पानी
खबर पलिका
२०७९ जेठ २० गते १९:४७

रौतहटको गौरमा रहेको सरकारी अस्पतालमा बिरामीलाई म्याद गुज्रिएको औषधि दिने गरिएको छ । सरकारी अस्पतालको सेवा र सुविधाको विषयमा व्यापक गुनासो बढेपछि गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले शुक्रवार अस्पतालको अनुगमन गर्दा चरम बेथिति रहेको देखिएको छ । अस्पतालमा भर्ना भएका एक बिरामीलाई नौ महिना पहिले नै म्याद गुज्रेको स्लाइन पानी चढाउँदै गरेको अनुगमनको क्रममा देखिएको छ ।

नौ महिना पहिले नै म्याद नाघिसकेको स्लाइन पानी बिरामीलाई चढाइँदै गरेको फेला परेपछि नगर प्रमुख साहले यस विषयमा जिम्मेवार पदाधिकारीलाई सोध्दा गल्ती हुन गएको स्वीकार गरेका छन् । अब आइन्दा बिरामीसित कुनै किसिमको लापरवाही नगर्न र सर्वसाधारणले गुनासो गर्न नहुने गरी सेवा प्रदान गर्न नगर प्रमुख साहले निर्देशन दिएका छन् । यस किसिमको गम्भीर त्रुटि फेला परेमा कानुनी कारबाही अगाडि बढाउने चेतावनी पनि नगर प्रमुख साहले दिएका छन् ।

अस्पतालको शौचालय, बिरामी भर्ना कक्ष तथा अन्य ठाउँमा फोहोर र दुर्गन्ध धेरै भएको अनुगमनको क्रममा देखिएको छ ।  अस्पतालमा अस्पतालजन्य फोहोर र अन्य किसिमको फोहोर दुर्गन्ध फैलिने तथा रोगहरुको डर हुने भएकोले सरसफाइमा पनि गम्भीर हुन नगर प्रमुख साहले निर्देशन दिएका छन् ।

अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन र सेवाग्राहीले पाउने सुविधालाई थप व्यवस्थित गर्न नगर प्रमुख साहले अस्पतालमा नगर प्रहरीसहितको सहायता कक्ष स्थापना गर्ने पनि जानकारी गराएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =