तनाव भएपछि गुजरा नगरपालिकाको कार्यपालिका निर्वाचन स्थगित
खबरपालिका, रौतहट
रौतहटको गुजरा नगरपालिकामा कार्यपालिकाको चुनाव स्थगित भएको छ । निर्वाचनको लागि मनोनयन दर्ता भएपछि निर्वाचन कार्यालयमाथि गैरदलितलाई दलित र गैरअल्पसंख्यकलाई अल्पसंख्यकमा उम्मेदवार बनाएको भन्दै विरोध भएपछि निर्वाचन कार्यक्रम अनिश्चित कालको लागि स्थगित भएको हो ।
दलित र अल्पसंख्यक जातिको सूचीमा नरहेकोलाई निर्वाचन कार्यालयले दर्ता गरेको भन्दै उम्मेदवारी रद्द गर्ने माग गर्दै निर्वाचन कार्यालयमा तालाबन्दी पनि गरिएको छ । नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले निर्वाचन कार्यालयमा तालाबन्दी गर्दै नगरपालिका कार्यालय र निर्वाचन कार्यालयविरुद्ध प्रदर्शन पनि गरेका छन् ।
निर्वाचन कार्यालयमा दलितको स्थानमा गैरदलित मुस्लिम व्यक्ति आरिफ मियाँ दर्जी, असगर अलि अन्सारी र अल्पसंख्यकमा विजय साह बनियाको नाम दर्ता गरेपछि एमाले र एकीकृत समाजवादीले विरोध गरेको हो । निर्वाचन अधिकृत बद्री नारायण शर्माले जसपा नेपालबाट नगर प्रमुखमा निर्वाचित सन्तलाल चौधरीसित मिलेर निर्वाचन आयोगको निर्देशन विपरीत उम्मेदवारी दर्ता गरेको आरोप एमाले र समाजवादीले लगाएका छन् ।
दुई दलले तत्काल निर्वाचन प्रक्रिया रोक्न माग गर्दै लिखित उजुरी दर्ता पनि गराएका छन् । दलितको नाममा गैरदलित र अल्पसंख्यकको नाममा गैरअल्पसंख्यकलाई नगर प्रमुखको इसारामा निर्वाचन अधिकृतले जिताउन खोजेको आरोप नेकपा एमालेका रौतहट जिल्ला सचिव अनमोल कार्कीले लगाएका छन् ।
चारैतिरबाट विरोध भएपछि गुजरा नगरपालिकामा रहेको निर्वाचन कार्यालयले अर्को सूचना नभएसम्मको लागि निर्वाचनको कार्यक्रम स्थगित गरेको छ । निर्वाचन अधिकृत बद्री नारायण शर्माले महिला, दलित वा अल्पसंख्यक सदस्य पदको निर्वाचन अर्को निर्णय नभएसम्मको लागि स्थगित गरिएको जानकारी गराएका छन् ।
Facebook Comment