मधानी महोत्सवमा भारतीय कलाकारहरुको ठुमका
खबर पालिका
२०७९ फागुन ६ गते १९:११

रौतहट, फाल्गुन–६,
रौतहटको मौलापुर नगरपालिकाले गर्दै आएको मधानी महोत्सवमा चर्चित भारतीय कलाकारहरुले ठुमका लगाएका छन् । मौलापुर नगरपालिका ५ पतौरास्थित पुरातात्विक महादेव मन्दिरमा महाशिवरात्रीको अवसरमा आयोजित मधानी महोत्सव २०७९ मा भारतीय भोजपुरी सिनेमाका चर्चित कलाकारहरु पवन सिंह तथा काजल राघवानीलगायतले गीत तथा नृत्य प्रस्तुत गरेका छन् । नेपाल र भारतका लाखौँ दर्शकलाई नचाउँदै लोकप्रिय गायक तथा कलाकार पवन सिंहले मौलापुर महादेवको नाम आफूले धेरै सुनेको र आएर शिवको आंगनमा कला प्रस्तुत गर्न पाउँदा निकै खुसी लागेको बताएका छन् । २०७६ देखि मौलापुर नगरपालिकाले महाशिवरात्रीको अवसरमा मधानी महोत्सवको आयोजना गर्दै आएको छ । पहिलो मधानी महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भन्डारीले गर्नु भएको थियो भने यस वर्षको महोत्सवको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार गर्नु भएको थियो । मधानी महोत्सवमा भारतबाट पनि लाखौँ दर्शक आउने गरेका छन् । नेपालको पनि विभिन्न जिल्लाबाट लाखौँ दर्शक मधानी महोत्सवमा सिनेमाका चर्चित कलाकारहरुको प्रस्तुति हेर्न पुग्ने गरेका छन् । कलाकारहरु पवन सिंह र काजल राघवानीले दर्शकहरुको मागको आधारमा आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेका छन् । नेपालको मुख्य गरी रौतहट र केही मात्रामा बारा तथा सर्लाही जिल्लामा शिवको लोकअनुष्ठान मधानी यज्ञ गर्ने चलन रहेको छ । कुनै पण्डित पुरोहितको आवश्यकता नपर्ने मधानी कामरनाथुहरुले गर्ने गराउने गर्दछन् । नेपालसित सीमा जोडिएको भारतको केही क्षेत्रमा मात्र मानिने मधानी यज्ञका शिव र पार्वतीको बिहेसँग सम्बन्धित विभिन्न कृत्यहरु गरिन्छन् । थारु, मधेसी र पहाडी समुदाय सबैले मनाउने मधानी यज्ञलाई रौतहटको मौलिक संस्कृतिको रुपमा लिइएको छ । मुख्य रुपमा थारु र बाजी समुदायको साझा संस्कृतिको रुपमा नेपालको बज्जिकांचलको मौलिक संस्कृति मधानीको अन्तराष्ट्रियस्तरमा पहिचान दिलाउने काम मौलापुर नगरपालिकाले गरिरहेको छ । चौथो मधानी महोत्सवबाट पर्यटनको विकासमा सजिलो हुने नगर प्रमुख रिनाकुमारी साहले बताएकी छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − six =